ताप्लेजुङमा सिटामलको मौज्दात सकिँदै

0
Shares

ताप्लेजुङ, (नेस) ।

ताप्लेजुङ जिल्लामा सञ्चालित मेडिकल तथा अस्पतालहरुमा सिटामोल सकिँदै गएको छ । अनुगमनका क्रममा अधिकांश मेडिकल पसलमा सिटामोलको अभाव रहेको देखिएको हो ।

विभिन्न जिल्लाहरुमा सिटामोलको अभाव भएको समाचारहरु आइरहँदा ताप्लेजुङमा पनि सिटामलको मौज्दातबारे अनुगमन गरिएको थियो । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठवटा औषधि पसल तथा मेडिकलमा समितिले सिटामलको मौज्दातबारे अनुगमन गरेको हो ।

अधिकांश मेडिकल हलहरुमा कुनैमा शून्य, कुनैमा १ सयदेखि ४ सय चक्कीसम्म सिटामोलको मात्रा मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताउनुभयो । खपत बढी हुने भएकाले मौज्दात रहेको सिटामोलले माग धान्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

ताप्लेजुङ जिल्ला अस्पतालमा भने २ लाख ६ हजार बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताउनुभयो । अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नुपर्ने अवस्थाको रहेको उहाँको कथन छ । जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थामा समेत औषधि पठाउनुपर्ने भएकाले थप आपूर्ति नभए सिटामोलको अभाव हुने अनुगमन समितिले निष्कर्ष निकालेको छ ।