कोरोना जोखिमकै बीच ‘चेलीत्यार’ शुरू

0
Shares

डोटी ।

पछिल्लो समय कोरोना सङ्क्रमण तीव्ररूपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेलीको त्यार शुरू भएको छ । माघी पर्वको रौनक सकिएसँगै डोटीसहित यहाँका विभिन्न जिल्लामा चेलीत्यार शुरू भएको हो । विवाह गरेर पराइ घर गएका चेलीलाई त्यार दिन यहाँका महिलालाई अहिले भ्याइनभ्याई भएको छ ।

विवाह गरेर पराइ अर्थात् पाइँली घरमा गएकी चेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेलीत्यार’ वा त्यारमाडो दिने भन्ने गरिन्छ । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेलीत्यार’ दिने चलन छ । आफ्ना माइती नभएका अर्थात् आमा, बुबा, दाइ, भाउजू नभएका चेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ गैराकी स्थानीयवासी बाटुली विकले बताउनुभयो ।

‘महिनाभरि माइतीले छोरीलाई रोटी (त्यारमाडो) दिने गर्दछन्’, उहाँले भन्नुभयो– ‘माइती सम्झँदा रुन मात्रै मन लाग्छ ।’ माइती पक्षका कोही नभएका चेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएर बस्ने गरेका हुन्छन् । माघ महिनामा कहिले माइती आउलान् र ‘चेलीत्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताउनुभयो । ‘बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् कि भन्ने आसले मन खुसी हुन्छ’, उहाँले भन्नुभयो– ‘बेलुकीसम्म कोही आएनन् भने मन खिन्न हुन्छ ।’

सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने दिने चलन परापूर्वकालदेख चल्दै आएको बूढापाकाहरु बताउँछन् । छोरी धनी होस् वा गरिब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा ।

छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पीठोबाट बनेको), माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करिब हप्ता खान पुग्ने गरी दिने चलन रहेको छ । ‘एक छोरीको घरमा हप्ता दिन पुग्ने गरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई निकै दुःख हुन्छ’, दिपायल सिलगढी नगरपालिका–२ दिपायलकी हीरादेवी कठायत बताउनुहुन्छ– ‘त्यार नदिई नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन ।’

हिजोआज यहाँ जताततै कोसेली बोकेर छोरीको घर गइरहेका आमाहरु प्रशस्तै भेटिने गरेका छन् । सुदूरपश्चिममा माघ महिनालाई धार्मिक महिनाका रूपमा पनि लिने गरिन्छ । यो महिनामा छोरीचेली, ज्वाइँ तथा नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जनविश्वास रही आएको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीका स्थानीयवासी तथा व्यापारी मानबहादुर धामीको भनाइ छ ।