मिर्गौलापीडितलाई १ लाख ७० हजार सहयोग

0
Shares

तनहुँ (नेस) ।

तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँको सक्रियतामा संकलन भएको १ लाख ७० हजार ३ सय ८५ रुपियाँ बुधबार दुवै मिर्गौलापीडित ४८ वर्षीय वीरेन्द्र बरालीलाई हस्तान्तरण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव केशबहादुर सुनार, केन्द्रीय सदस्यद्वय तेजबहादुर सुनार र कृष्ण सुनार, जिल्ला अध्यक्ष विनोदकुमार विक ‘विकास’, सचिव पदम सुनारलगायतका पदाधिकारीले संयुक्तरूपमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

ऋषिङ गाउँपालिका–२ काँहुशिवपुर घर भई हाल व्यास नगरपालिका–३ बस्दै आउनुभएका बरालीको उपचारका लागि संघले थालेको ‘वीरेन्द्र बराली बचाउ’ अभियानको क्रममा पहिलो चरणमा संकलन भएको उक्त रकम हस्तान्तरण गरिएको सचिव पदम सुनारले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेका बरालीको उपचारका लागि सुनचाँदी व्यवसायी संघमा आबद्ध व्यवसायी, विभिन्न संघ–संस्था र व्यक्तिबाट संकलित रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष विनोदकुमार विकले जनाउनुभयो ।

एक्कासि शरीर सुनिने र फुलिने हुन थालेपछि स्वास्थ्य परीक्षणको लागि काठमाडौंस्थित शिक्षण अस्पताल जाँदा मात्रै आफ्नो दुवै मिर्गौला खराब भएको थाहा पाएको बिरामी बरालीले बताउनुभयो । सरकारी अस्पतालमा स्थान नपाएपछि पोखरास्थित आस्था किड्नी एन्ड स्पेसलाइज्ड अस्पतालमा डायलाइसिस गर्दै आएको उहाँले बताउनुभयो ।

‘हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘एकपटक डायलासिस गर्दा तथा अस्पताल आउन–जान गरी ९ हजार रुपियाँ खर्च हुने गरेको छ ।’ एक महिना अघिदेखि घाँटीमा फिस्टुला राखी डायलाइसिस गर्दै आएको बरालीले बताउनुभयो । तनहुँ सुनचाँदी व्यवसायीले बरालीको मिर्गौला प्रत्यारोपण गर्ने कार्यसम्म निरन्तर सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।