अदालत–स्वास्थ्य केन्द्रका सेवा स्थगित

0
Shares

बैतडी ।

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा रहेको दन्त सेवा स्थगित गरिएको छ । चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो ।

स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिनुभयो । ‘एन्टिजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ’, उहाँले भन्नुभयो– ‘केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्वास्थ्य सेवा बन्द गरेका हौं ।’ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुरक्षित प्रसूति सेवा र आकस्मिकबाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ ।

त्यस्तै, कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा पनि बन्द गरिएका छन् । अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको हो । कोरोना जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ । बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउपुर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमितरूपमा सञ्चालन गरिनेछ ।

यस्तै, मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ । यस्तै, सजाय निर्धारणका लागि पेसी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ । यीबाहेकका अन्य सेवा तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ ।

यसैबीच जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभएसम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले मंगलबार प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालका निमित्त प्रमुख डा. चैतन्य जोशीले स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएकाले तत्कालका लागि दन्त सेवा बन्द भएको बताउनुभयो । सेवा बन्द हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति अस्पतालले क्षमासमेत मागेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।