व्यापार घाटाले मुलुकको अर्थतन्त्र नाजुक



काठमाडौं ।

सरकारले तरलता अभाव जनाउँदै बिलासिताका सामान आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान सारेको भए पनि आयातमा भने उक्त कदमको प्रभाव देखिएको छैन । अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले व्यापार घाटा कम गर्न आयातको पुनरावलोकन गरिएको, असोज महिनामा चाँदीको भन्सार दरमा समायोजन गरिएको, नेपाल राष्ट्र बैंकले विलासिताका सामानमा धरौटी वृद्धि गरेको,चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब १८ अर्ब रुपियाँको वस्तु तथा सेवा निर्यात हुँदा ९ खर्ब ९९ अर्ब रुपियाँको वस्तु तथा सेवा आयात भएको जानकारी दिनुभयो ।

प्रवक्ता शाक्यले आयात रोक्नेभन्दा पनि व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार निर्यात प्रवद्र्धन गर्न कोभिड प्रभावित उद्योगी व्यापारीलाई करमा छुट दिइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म आयात ५१ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ६१ अर्ब रुपियाँको सामान आयात भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा निर्यात ९५ दशमलव ४८ प्रतिशतले वृद्धि भई १ खर्ब १८ अर्ब ८५ करोड रुपियाँको पुगेको हो । अघिल्लो वर्ष सोही अवधिमा ६० अर्ब ७९ करोड रुपियाँको सामान निर्यात भएको थियो ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब १८ अर्ब १८ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा यस ७२ अर्ब २० करोड रुपियाँको बाह्य व्यापार भएको थियो । निर्यातजन्य वस्तु उत्पादन वृद्धि हुन नसक्दा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले वृद्धिभई ८ खर्ब ८० अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा ६ खर्ब ४४ करोड रुपियाँ व्यापार घाटा भएको थियो ।

पहिलो ६ महिनामा पेट्रोलियम पदार्थ १ खर्ब ५३ अर्ब , फलाम तथा स्टिलको आयात ८४ अर्ब ९३ करोड , वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड , सवारी साधन १ अर्ब ७७ करोड , मेसिनरी पार्टस ७६ अर्ब ३३ करोड र खाद्यान्न ४२ अर्ब ७२ करोड रुपियाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, पुस महिनामा मात्र एक खर्ब ६१ अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको छ । ६ महिनामा वस्तु तथा सेवा आयात वापत दुई खर्ब ५७ अर्ब ६० करोड रुपियाँ राजस्व संकलन भएको छ ।

पहिलो ६ महिनामा नेपालमा १ सय ४१ देशबाट नौ खर्ब ९९ अर्ब ३४ करोड मूल्य बराबरका वस्तु आयात भएको छ । विभागको तथ्याङ्कअनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा ६ खर्ब तीन अर्ब ५४ करोड रुपियाँ बराबरको सामान आयात भएको हो । भारतपछि चीनबाट ठूलो मात्रामा वस्तु आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रूपियाँ मूल्य बराबरका वस्तु आयात भएको छ । यसैगरी नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरका वस्तु निर्यात गरेको छ ।

सो अवधीमा कुल १४८ मुलुकसँग कारोबार भएकोमा २३ वटा देशसँगको व्यापार मात्र नाफामा रहेको छ । जहाँ वैदेशिक व्यापार कुल २४ स्थानवाट हुने गरेकोमा वीरगञ्ज नाकाको हिस्सा आयातमा ३४ दंशलव ८ प्रतिशत र निर्यातमा ४७ प्रतिशत, भैरहवा नाकाको हिस्सा आयातमा १६ दशमलव २५ प्रतिशत र निर्यातमा ३ दशमलव ३७ प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा आयातमा १२ प्रतिशत र निर्यातमा १४ दशमलव ४ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्