सीटीईभीटीअन्तर्गतका सबै परीक्षा स्थगित

0
Shares

भक्तपुर, (नेस) ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का आसन्न सबै परीक्षा स्थगित भएका छन् । सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै कोरोना संक्रमणको कारण देखाउँदै सीटीईभीटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।

उपनियन्त्रक घिमिरेका अनुसार सीटीईभीटीको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । यससम्बन्धी औपचारिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशित हुने सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले यही माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषद्ले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सीटीईभीटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताउनुभयो ।