तनहुँका दुई उत्कृष्ट विद्यालयले पाए ब्रिटिस काउन्सिलको अवार्ड

0
Shares

तनहुँ ।

तनहुँका शैक्षिक क्षेत्रमा प्रतिष्ठित दुई विद्यालयले ब्रिटिस काउन्सिलको अवार्ड प्राप्त गरेका छन् । व्यास नगरपालिका–२ दमौलीस्थित निर्मल माध्यमिक विद्यालय र व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले काउन्सिललाई अवार्ड दिने भएको छ ।

काउन्सिलले अनलाइन मार्फत् एक देशबाट अर्को देशका विद्यार्थीहरुको कला तथा संस्कृति आदान–प्रदान गरी उत्कृष्ट भएको सत्यवतीले इन्टरनेशनल स्कूल र निर्मलले आइएसए फाउण्डेसन अवार्ड प्राप्त गरेको हो । विद्यालयले सात वटा प्रोजेक्ट बनाई देखाएर उत्कृष्ट भएको जनाएको छ ।

अवार्डका लागि शून्य सामाजिक समस्या कला, संस्कृति आदानप्रदान, घरमा बनेको पौष्टिक आहार, पेपेर क्राफ्ट, कौराहा नृत्य, लैङ्गिक विभेद विरुद्धको आवाज र क्षेत्रफल र लागत अनुमान विषयमा प्रोजेक्ट बनाएर अनलाइनबाट अर्को देशका विद्यार्थीहरुमाझ प्रस्तुतीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले सन् २०१९ मा दिइएको निवेदनका आधारमा विद्यालय छनौट भएर अवार्ड प्राप्त भएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालभरको १५औं श्रेणीमा रहेको सत्यवती यो अवार्ड पाउने तनहुँको एक मात्र विद्यालय हो । यो अवार्डले विद्यालयलाई अन्तरराष्ट्रिय जगतका विद्यालयहरुसँग समन्वय गरी कला, संस्कृति तथा पठनपाठनको विषय आदानप्रदान गर्ने अवसर प्राप्त भएको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।

सत्यवतीका विद्यार्थी अन्तरराष्ट्रियस्तरका विद्यार्थीहरुसँग कला, संस्कृतिका विषयमा छलफल र समन्वय गर्न योग्य रहेको प्रमाणित गरेको उहाँले बताउनुभयो । सत्यवतीमा गण्डकी प्रदेशकै धेरै संख्यामा विद्यार्थीहरुको पठनपाठन हुन्छ । विज्ञान पढाई हुने सत्यवतीमा दुई हजार पाँच सय ८४ विद्यार्थी अध्ययनरत छन् । सत्यवतीले तनहुँको समग्र संस्कृति कौराहा नृत्यलाई प्राथमिकता दिएको थियो ।

जिल्लाकै अर्को विद्यालय निर्मलले आइएसए फाउण्डेसन अवार्ड पाएको निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो । यो शीर्षकको अवार्डमा पनि तनहुँबाट निर्मल मात्रै पाएको छ । दमौलीका दुवै सामुदायिक विद्यालयले पाएको अन्तर्राष्ट्रियस्तरको संस्थाको राष्ट्रिय अवार्डले दुवै विद्यालयको शैक्षिकस्तर उकासिंदै गएको प्रमाणित गरेको छ ।