अझै १३ लाख विद्यार्थीलाई खोप लगाउन बाँकी

0
Shares

काठमाडौं ।

सरकारले विद्यालय लक्षित खोप अभियान सञ्चालन गरेको करिब दुई साता पुग्दा अझै १३ लाख विद्यार्थीले खोप लगाउन पाएका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रको तथ्याङ्अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब ३३ लाख विद्यार्थी रहेका छन् । तीमध्ये हालसम्म करिब ६० प्रतिशत अर्थात झण्डै २० लाख विद्यार्थीले मात्र खोप लगाइसकेका छन् ।

काठमाडौं र ललितपुरमा फाइजर र अन्य जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन भइरहेका छन् । दुई जिल्लामा पुस २७ देखि नौ दिनसम्म अभियान सञ्चालन भएको थियो ।
केन्द्रका महानिर्देशक चुडामणि शर्माले बाँकी विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० गतेसम्म पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको जानकारी दिँदै भन्नुभयो– ‘छुटेका र लकडाउनका कारण विद्यालय आउन नसकेका विद्यार्थीका लागि खोप अभियान सञ्चालन गर्न विद्यालय खुला गर्ने निर्णय भएको छ ।’ उहाँका अनुसार उपत्यकामा खोप लगाउन बाँकी विद्यार्थीको संख्या न्यून छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्न निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा माघ १ गतेदेखि बन्द रहेका विद्यालय ५ दिनको लागि खुला रहनेछन् । त्यसपछि विद्यालय खोल्ने कि नखोल्ने भन्ने सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसमा सरकारले निर्णय गर्नेछ ।

पहिलो प्राथमिकता तोकिएका उमेर समूहका सबै विद्यार्थीलाई पूर्ण मात्रा खोप लगाउनु नै रहेको जिकिर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभयो– ‘त्यसपछि विद्यालय खोल्ने विषयमा सीसीएमसीले निर्णय गर्नेछ ।’

मन्त्रालयका अधिकारी र सीसीएमसीका पदाधिकारीबीच मंगलबार भएको अनौपचारिक बैठकमा मन्त्रालयका अधिकारीले संक्रमित संख्या कम भएका जिल्लाका विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिन सुझाएका थिए । मन्त्रालयका अधिकारीले आंशिक रूपमा विद्यालय खोल्नेपर्ने बताएका थिए । उनीहरूले विद्यालय खोल्ने र बन्द गर्ने अधिकार आवश्यकताको आधारमा स्थानीय तहलाई दिँदा उचित हुने धारणा राखेका थिए । मन्त्रालयले एसईईलगायत सबै तहको परीक्षा नजिकिंदै गैरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालय खोल्ने धारणा अघि सारेको हो । कोभिड संक्रमण उच्च पुगेका जिल्लामा तत्काल नखोल्न र अन्य जिल्लामा खोल्ने विषयमा छलफल भएको थियो । सीसीएमसीले पुनः छलफल गरी निर्णय गर्ने तयारी गरेको छ ।