एसएसबीले हटायो दशगजाको सुरक्षा पोस्ट

0
Shares

विराटनगर ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोस्ट हटाएको छ । मोरङ प्रशासनले भारतीय प्रशासनसँग समन्वय गरी पोस्ट हटाउन गरेको आग्रहलाई सोमबार एसएसबीले कार्यान्वयन गरेको हो ।

एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीको टिकुलिया बस्तीबीचको दशगजामा सुरक्षा पोस्ट निर्माण गरेको थियो । त्यहाँ हतियारसहितका सुरक्षाकर्मी तैनाथ हुँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित जिल्लास्थित सुरक्षा निकायको समन्वयमा उक्त पोस्ट हटाउन आग्रह गरिएको थियो । अनुगमनका क्रममा दशगजामै सुरक्षापोस्ट राखेको पाइएपछि सशस्त्र प्रहरीसँगको समन्वयमा पोस्ट हटाउन भारतीय सुरक्षा अधिकारीहरुलाई आग्रह गरिएको मोरङका प्रमुख जिल्ला अधिकार दाहालले जानकारी दिनुभयो ।

आग्रहअनुसार नै भारतीय पक्षले अस्थायी रूपमा बनाएको पोस्ट सोमबार दशगजाबाट आफ्नो क्षेत्रमा सारेको उहाँले बताउनुभयो । ‘उनीहरुले कोभिडमा आवश्यक सुरक्षाका लागि भन्दै अस्थायी पोस्ट राखेको बताएका थिए’, प्रजिअ दाहालले भन्नुभयो– ‘सोमबार पुनः अनुगमन गर्दा पोस्टलाई दशगजाभन्दा बाहिर सारेको पाइएको छ ।’ विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले भारतीय पक्षले दशगजामै भारतीय सुरक्षाकर्मीको पोस्ट राखेको विषयमा इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा टोलीलाई जानकारी गराउनुभएको थियो ।

भारतीय पक्षले अन्तर्राष्ट्रिय सीमामा कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरीत दशगजामै पोस्ट बनाएर एसएसबीलाई राखेपछि चौतर्फी विरोध भएको थियो । पोस्ट हटाएपछि त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाइसकेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।