परीक्षाफल प्रकाशित गर्न ढिलाइ नहोस् : शिक्षामन्त्री

0
Shares

काठमाडौं, (नेस) ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीको परीक्षाफल समयमै प्रकाशित गर्न निर्देशन दिनुभएको छ । अनुगमनका लागि हिजो मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका त्रिविका सहकूलपति समेत रहनुभएका पौडेलले कुनै पनि बाहना नगरी समयमै विद्यार्थीको परीक्षाफल प्रकाशन गर्न निर्देशन दिनुभएको हो ।
कतिपय आयोगमा खुलेका विज्ञापनमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो आएको जिकिर गर्दै सहकुलपति पौडेलले भन्नुभयो–‘समयमै नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो । त्यसैले फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् । ’

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि परीक्षा सकिएको ६ महिना पुग्दासम्म पनि विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेकोे छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकिएको बताउनु भएपछि मन्त्री पौडेलले जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमै सेवाग्राहीको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन पनि त्रिवि प्रशासनसँग आग्रह गर्नुभयो ।

देशकै ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् भन्ने प्रश्न गर्दै मन्त्री पौडेलले भन्नुभयो–‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई तत्काल सिस्टममा लैजानुस् । ‘विद्यार्थीहरूको मानविकी शङ्कायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस् ।’ मन्त्री पौडेलले जनशक्ति थपेर भए पनि गुनासो कम आउने गरी काम गर्न निर्देशन दिँदै भन्नुभयो–‘विश्वविद्यालय सिस्टममा छैन । भौतिक संरचना एवं विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्यो ।’

परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र नतिजा निकाल्न सकिने जिकिर गर्दै पुराना कर्मचारी सेवा निवृत्त भएको र नयाँ कर्मचारीलाई प्रणाली सिक्ने एक वर्ष लाग्ने भएकोले ढिलाई भएको बताउनुभयो । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २ सय २४ जना कर्मचारी हुनुपर्नेमा अहिले १ सय ३७ जनाले मात्र काम गरिरहेको भन्दै समयमै नतिजा दिन नसकिएको स्वीकार गर्नुभयो ।