स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न आग्रह

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न कसरत गरिरहेकोलाई मध्यनजर गरी आयोगले सो आग्रह गरेको हो । आयोगले मंगलबार विज्ञप्ति प्रकाशित गरी स्थानीय तहको निर्वाचनको मिति तोक्न विलम्ब हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सुझाव दिएको थियो । त्यसपछि गत पुस ९ गते पनि प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेका थिए । तर, सरकारले मिति तोक्नमा ढिलाइ गरेपछि आयोगले पुनः सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ ।’२०७४ सालमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरण गरी तीन चरणमा भएको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐनअनुसार पहिलो चरणमा भएको निर्वाचनको मितिलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताउँदै आएको छ ।

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई एक सय २० दिन आवश्यक पर्दछ । विज्ञप्तिमा भनिएको छ–‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरू निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ साल वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’