स्थानीय तहको निर्वाचन वैशाखमै गर्न देउवामाथि दबाब

0
Shares

काठमाडौं ।

स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब परेको छ । सत्ता गठबन्धन दलहरूले स्थानीय तहको निर्वाचन आगामी मंसिरमा गर्न कानुन संशोधनको लागि दबाब दिइरहेकै बेलामा प्रधानमन्त्री देउवामाथि आफ्नै पार्टीबाट यस्तो दबाब परेको हो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीभित्रैबाट चुनावको मिति घोषणामा अलमल नगर्न चौतर्फी दबाब परेको छ । निर्वाचनको मिति पछि धकेल्न नहुनेमा जोड दिँदै आएको शेखर कोइराला समूहले पदाधिकारी वा केन्द्रीय कार्यसमितिको बैठक बोलाएरै निर्वाचनको विषयमा पार्टीको धारणा बनाउनुपर्ने माग गरेको छ । कांग्रेसका एक नेताका अनुसार सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीभित्रको कुरा सुनुवाई नगरे केही दिनभित्र नै कोइराला समूहको भेला बोलाएरै दबाब दिने तयारी अगाडि बढेको छ । ती नेताका अनुसार वैशाखमै निर्वाचनको मिति घोषणा गर्नुको अर्को विकल्प नभएकाले प्रधानमन्त्री देउवा चुनाव गराउन तयार हुनुहुनेछ । कांग्रेसका ती नेताले भने–‘अब सायद प्रधानमन्त्रीले यो दबाब थेग्न सक्नुहुन्न, वैशाखमै निर्वाचनको मिति घोषणा हुन्छ ।’ स्थानीय तहको निर्वाचन र कानुन संशोधनको विषयमा पार्टीसँग परामर्श नै नगरी सभापति एवं प्रधानमन्त्री एकलौटी रूपमा अगाडि बढेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न संविधान र कानुन बाझिएको भन्दै निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता देव गुरुङले कानुन संशोधन गर्न दिइएको सुझावलाई अब सरकारले अगाडि बढाउने बताउनुभयो ।

सरकारको नेतृत्व गरेको नेपाली कांगेसभित्र वैशाखमा निर्वाचन गराउने/नगराउने विषयमा दुई धारा देखिए पनि सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा भने वैशाखको निर्वाचन आगामी मंसिरमा गर्नुपर्नेमा एकमत देखिएका छन् । सत्ता गठबन्धनको दबाबको कारण निर्वाचन आयोगको सुझावमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलासुस्ती गर्दै आएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माग गर्दै आएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संविधानअनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘स्थानीय तहको निर्वाचनको मिति पछि धकेल्ने खेल एमालेलाई स्वीकार्य छैन, जनताको अधिकारमाथि खेलवाड गर्न पाईंदैन ।’

आयोगका पदाधिकारीले प्रम भेट्न पाएनन्
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न एक सातादेखि ताकेता गरिरहेका निर्वाचन आयोगका पदाधिकारीहरूले अझै भेटका लागि समय नपाएको बताइएको छ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेपछि आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराउन समय मागेका हुन् ।

एकसातादेखि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवाको सचिवालयमा भेटको लागि समय मागेको भएता पनि अझै समय नपाएको आयोगका एक आयुक्तले बताए । उनका अनुसार आयोगले निर्वाचनको मिति आगामी वैशाखमै तोक्न आग्रह गर्नको लागि प्रधानमन्त्रीसँग भेट गर्न चाहेको हो । निर्वाचन आयोगले माघको पहिलो साता प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्न सुझाव दिएको थियो ।

तर सत्ता गठबन्धनको आगामी वैशाखमा निर्वाचन नगर्ने नीतिअनुरुप सरकारले कानुन संशोधनको प्रक्रिया अगाडि बढाएपछि आयोगले वक्तव्य निकालेरै तत्काल निर्वाचनको मिति तोक्न दबाब दिएको छ ।