कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

0
Shares

काठमाडौं, (नेस) ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सोमबारको तुलनामा मंगलबार झण्डै २ हजार संक्रमित थपिएका छन् । विगत २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण वृद्धिसँगै बितेको २४ घण्टामा ८ जनाको जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको परीक्षण बढेसँगै संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित छन् ।
मंगलबार झण्डै १२ हजार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ भने कोरोनाबाट मृत्‍यु हुनेको कुल संख्या ११ हजार ६ सय ६७ पुगेको छ ।

हाल देशभर ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् । १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार २ सय ४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

उपत्यकामा मात्रै ६ हजारभन्दा बढी थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकैदिन काठमाडौं उपत्यकामा ६ हजार १ सय ७२ जना संक्रमित थपिएको जनाएको छ । तीमध्ये काठमाडौं जिल्लामा ४ हजार ८ सय ७५, ललितपुरमा ७ सय ८२ र भक्तपुरमा ५ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

उपत्यकाबाहेक मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, कास्की, रूपन्देहीलगायतका जिल्लामा संक्रमितको संख्या ५ सयभन्दा माथि पुगिसकेको छ ।