डिलरलाई मानसिक तनाव, व्यापार व्यवसाय चौपट

भगवती लेमिनेट्स कर छली प्रकरण



काठमाडौं ।

भगवती लेमिनेट्सले गरेको राजस्व ठगीको प्रमाण एकपछि अर्को गरी थपिँदै गएको छ । नेपाल समाचारपत्रलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन् । काठमाडौं सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका नाममा भगवती लेमिनेट्सले मंसिर १३ गते भ्याट नम्बर ३१८ उल्लेख गरी ना०६ख ५०७५ नं.को ट्रकमा सामान पुर्याएको समाचार प्रकाशित भएपछि सो प्लाइ सेन्टरको कच्चा बिलको स्टेटमेन्ट नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।

भगवती लेमिनेट्सले पक्का बिलको कारोबार झापाबाट गर्छ भने कच्चा बिलको कारोबार धुलाबारीबाट गर्ने गरेको स्रोतले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र ८० करोडको व्यापार कच्चा बिलबाट भएको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बताएको छ । एभरग्रिन प्लाइ सेन्टरका सञ्चालक सुमन सुवेदीले भगवती लेमिनेट्सका कारण आफूहरू मानसिक तनावमा परेको नेपाल समाचारपत्रलाई बताउनुभएको छ । उहाँले महिनामा ठूला डिलरले ५/७ गाडी माल झारेर व्यापार गर्ने र आफूहरू दुई महिनामा १ गाडी माल झारेर व्यापार गर्नेमा ठूलो अन्तर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भगवतीले अहिले मालसामान दिँदैन, केवल भुक्तानी मात्र माग्छ । बजारमा सामान पनि अभाव छ, अरू कम्पनीका सामान पनि हामीजस्ता साना डिलरलाई हतपती दिँदैनन्, हामीहरू त ठूलो मारमा पर्यौं ।’

भगवती लेमिनेट्सले एभरग्रिन प्लाइ सेन्टरका नाममा कच्चा बिलको स्टेटमेन्ट देखाएकाले आफूलाई दिनमा भोक न रातमा निद्राको स्थितिमा पुर्याएको उहाँको गुनासो छ । हाल भगवती लेमिनेट्स काण्डले टाउको दुखाएको भन्दै उहाँले गोदाममा कुनै पनि प्लाइको गाडी नछिरेको महिनौं दिन भएको बताउनुभयो । वनेपामा भएका स–साना फ्याक्ट्रीबाट थोरै सामान मगाउँदै पसल खोल्ने बाटो मात्र गरेको उहाँको भनाइ छ । अबदेखि आफूहरू सचेत भएर यस्तो लफडामा नपर्ने उहाँले बताउनुभयो । सोही विषयलाई लिएर भगवती लेमिनेट्सका निर्देशकद्वय रजनिश कर्नानी र विष्णु मदगोरियासँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

भगवती लेमिनेट्सको बिलमा सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ । यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो । नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण र आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सका कर्मचारीका साथै डिलर र उनका सञ्चालकको ३ देखि ५ वर्षसम्मको बैंक स्टेटमेन्ट हेर्यो भने कच्चा बिलबाट कति कर छली भइरहेको छ प्रस्ट हुन्छ ।भगवती लेमिनेट्सको कर छल्ने यो तरिकाले गर्दा यसका सबै डिलरहरू एकपछि अर्को गर्दै मानसिक तनावमा पर्दै गएका छन् । एभरग्रिनका सुवेदीले कम्पनीहरूले के गर्छन्, कसरी कर छली गर्छन् त्यो त्यसबारे आफू अनभिज्ञ रहेको बताउनुभयो ।

कम्पनीले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ प्रयोग गर्ने र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्ने गरिएको उद्योगमै कार्यरत पुराना लेखापालले बताएका थिए । नेपाल समाचारपत्रलाई प्रमाणसहित प्राप्त जानकारीअनुसार उद्योगले सबैजसो कारोबार अन्डर इनभ्वाइसमै गर्ने गर्दछ । खासगरी यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर र आयकरबाट बच्नु नै हो । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउनका लागि र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो । नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर
भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने
भगवती प्लाइउडमा राजस्वको छापा

प्रतिक्रिया दिनुहोस्