सीटीईभीटी अन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित


न्युज अफ नेपाल, भक्तपुर ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी) का आसन्न सबै परीक्षाहरू स्थगित भएका छन् ।सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना संक्रमणको कारण देखाउँदै सीटीईभीटी अन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्र्थी र कर्मचारीमा कोरोना संक्रमण हुनसक्ने भन्दै सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।उपनियन्त्रक घिमिरेका अनुसार सीटीईभीटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यस सम्बन्धि औपचारिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशित हुने सीटीईभीटीले जनाएको छ ।सीटीईभीटीले यही माघ १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषदले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्र्तगतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताउनुभयो ।