व्यावसायिकरूपमा अक्सिजन उत्पादन शुरू

0
Shares

ताप्लेजुङ ।

ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिकरूपमा अक्सिजन उत्पादन गर्न थालेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन शुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिकरूपमा उत्पादन शुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताउनुभयो । प्लान्टमा दैनिक ३ देखि १५ लिटरका २० वटा अक्सिजन सिलिन्डर भरिने गरेको उहाँको कथन छ ।

जिल्ला अस्पतालाई पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा विभिन्न निर्मार्णाधीन अवस्थामा रहेको हाइड्रोपावर कम्पनीहरुमा समेत निर्यात हुन थालेको जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताउनुभयो ।

५ लिटरदेखि १५ लिटरसम्मको सिलिन्डरमा अक्सिजन भर्नका लागि ५ सय रुपियाँ दर निर्धारण गरिएको छ । १५ देखि ३५ लिटरसम्मको सिलिन्डर भर्नका लागि १ हजार रुपियाँ तोकिएको छ । त्यस्तै, ३५ देखि ६५ लिटरसम्मको सिलिन्टर भर्नका लागि १ हजार ५ सय रुपियाँ मूल्य निर्धारण गरिएको चौधरीले बताउनुभयो ।

संघीय सरकारले ७१ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो । अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको छ । अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ ।