अत्यावश्यकबाहेकका सेवा स्थगन

0
Shares

गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको जनाएको हो ।

प्रशासनले माघ ११ गते मंगलबारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । कार्यालयमा सेवाग्राहीको भीडभाड उच्च रहेको र कोभिड–१९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेल बताउनुहुन्छ । प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय दैनिकजसो सेवाग्राहीको चाप बढ्दै गएको थियो । नागरिता, मतदाता नामावली, राहदानी राष्ट्रिय परिचयपत्रलगायतका सेवा लिन दैनिक जसो भीडभाड हुने गरेको हो । प्रशासनमा संक्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्लाभर नै कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाइ छ ।

अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोपकार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोधसमेत गरिएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएको छ । हाल जिल्लामा २ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।