गाउँपालिकामै कोरोना परीक्षण

0
Shares

लमजुङ, (नेस) ।

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाले पालिकाभित्रै एन्टिजेन विधिबाट दैनिक कोरोना परीक्षणको व्यवस्था गरेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको र गाउँपालिकामा समेत संक्रमण जोखिम बढेकाले संक्रमण पहिचान र नियन्त्रणका लागि परीक्षणको व्यवस्था मिलाइएको हो ।

पालिकामै संक्रमित भेटिन थालेपछि तत्कालका लागि तीन स्थानमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार वडा नं. ३ स्थित खुदी स्वास्थ्य चौकी, वडा नं. ५ घर्मु स्वास्थ्य चौकी र वडा नं. ७ ङादीमा रहेको कोभिड अस्थायी अस्पतालबाट एन्टिजेन परीक्षण गरिन्छ । तीनवटै स्वास्थ्य सस्थामा प्रत्येक दिन दिउँसो १ देखि ३ बजेसम्म एन्टिजेन परीक्षण गरिने अध्यक्ष गुरुङको कथन छ ।

गाउँपालिकामा कोभिडसँग मिल्दोजुल्दो लक्षणका बिरामी बढ्न थालेपछि गाउँपालिकाले कोभिडसम्बन्धी शंकास्पद लक्षणहरु देखिएमा तुरुन्तै परीक्षण गरी सुरक्षित रहन अनुरोधसमेत गाउँपालिकाले गरेको छ ।

पालिकामा कोरोना भाइरस संक्रमितको संख्या १७ जना पुगिसकेको छ ।संक्रमणकै कारण एक पुरुषको मृत्युसमेत भएको छ । हालसम्म ३ जना संक्रमणमुक्त भएका छन् भने १३ जना उपचारको लागि आइसोलेसनमा रहेको अस्थायी कोभिड अस्पतालका संयोजक अशिष परियारले जानकारी दिनुभयो । संक्रिय संक्रमित सबै होम आइसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाले कोभिड भेरियन्ट थप संक्रामकरूपमा देखा परिरहेको अवस्थामा यसलाई न्यूनीकरण गर्न सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न आग्रह गरेको छ ।