अत्यावश्यक कामबाहेक बाहिर निस्कन रोक

0
Shares

बैतडी ।

कोरोना संक्रमणको जोखिम बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले ११ बुँदे आदेश जारी गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार ११ बुँदे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेद्वारा हस्ताक्षरित आदेशमा उल्लेख गरिएको छ ।

जारी आदेशअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ । जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । धार्मिक वा सांस्कृतिक ठाउँहरुमा जात्रा, विवाह, व्रतवन्ध, मृत्यु संस्कारलगायतका अन्य अत्यावश्यक सामाजिक कार्यहरु सञ्चालन गर्दा बढीमा २५ जना मात्रै उपस्थित हुन पाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी कार्यक्रम सञ्चालन गर्न आदेशमा भनिएको छ । सार्वजनिक यातायातको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क र फेससिल्ड लगाउनुपर्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने जनाइएको छ ।

सभा–समारोह गोष्ठी गर्दा अनिवार्य कोरोना रिपोर्ट नेगेटिभ आएको र पूर्ण खोप लगाएको हुनुपर्नेछ । त्यसै गरी, शैक्षिक संस्था बन्द रहेको सन्दर्भमा सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम गर्ने, पूर्वनिर्धारित परीक्षा स्वास्थ्यका मापदण्डको पालना गरेर सञ्चालन गर्ने भनिएको छ । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने, सवारीसाधन दैनिकरूपमा निःसंक्रमण गर्नुपर्ने जनाइएको छ । आदेशको अवज्ञा गरिएको पाइएमा संक्रामक रोग ऐन–२०२० र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना, सेवा बन्द
बैतडीका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य केन्द्रले ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । ‘एन्टिजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ’, उहाँले भन्नुभयो– ‘केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा बन्द गरेका हौं ।’

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुरक्षित प्रसूति सेवा र आकस्मिकबाहेकका अरू सेवा बन्द गरिएका केन्द्रले जनाएको छ । कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

बैतडीमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर, स्थानीय तहहरुले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म कोरोनाका कारण १९ जनाको ज्यान गइसकेको छ ।