पालिकाले दियो कलेजलाई जग्गा

0
Shares

डोटी ।

दिपायल सिलगढी नगरपालिकाले इन्जिनियरिङ कलेज स्थापनाका लागि जग्गा खरिद गरेर डोटी बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख मञ्जु मलासीले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले वडा नं ३ थाप्लामा कुल १ सय २० रोपनी जमिन खरिद गरेर खप्तड इन्जिनियरिङ कलेजको नाममा लालपुर्जा बनाएर हस्तान्तरण गरेको नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गरुङले बताउनुभयो । ‘क्याम्पस निर्माणका लागि कम्तीमा पनि १ सय ३० रोपनी जमिन चाहिन्छ, अहिले १ सय २० रोपनी खरिद गरेका छौं, १० रोपनी केही दिनमा पास गर्दै छौं ।’ –उहाँले भन्नुभयो । क्याम्पस निर्माणका लागि विगत ६ वर्षदेखिको योजना रहे पनि जग्गा नहुँदा निर्माण हुन सकेको थिएन । नगरपालिकाले जग्गा उपलब्ध गराएपछि जिल्ला सदरमुकाम सिलगढीमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । प्रत्येक प्रदेशमा आङ्गिक इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने सरकारको नीतिअनुसार डोटीलाई २०७२ सालमै छनोट गरिएको थियो ।

उक्त क्याम्पसका लागि बिजुली खानेपानीलगायतका पूर्वाधार नगरपालिकाले गर्ने नगर प्रमुख मलासीले प्रतिबद्धतासमेत गर्नुभएको छ ।
क्याम्पसका प्रमुख जोशीले क्याम्पसको नाममा लालपुर्जा बनिसकेकाले गुरुयोजनाको काम चाँडै शुरु गर्ने बताउनुहुन्छ । ‘क्याम्पसका नाममा लालपुर्जा बल्ल आयो, अब भौतिक संरचना निर्माणको काम थाल्छौं ।’ –उहाँले भन्नुभयो ।