४० जनालाई १० महिने कुक तालिम

0
Shares

बुटवल ।

पर्यटन क्षेत्रमा दक्ष कामदार उत्पादन गर्ने उद्देश्यसहित बुटवलमा आइतबारदेखि दश महिने पेसागत कुक तालिम शुरू भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा देउराली जनता प्राविधिक शिक्षालय बुटवलको प्राविधिक सहयोग र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको समन्वयमा तालिम दिन शुरू गरिएको हो । तालिम तथा अभिमुखीकरण कार्यक्रमको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले शुभारम्भ गर्नुभयो । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको समन्वयमा यसक्षेत्रमा यति ठूलो र व्यवसायिक तालिम पहिलोपटक आयोजना गरिएको हो ।

सो अवसरमा बोल्दै यस क्षेत्रमा होटल रेस्टुरेन्टहरूमा दक्ष कामदारको अभाव भएको भन्दै तालिम लिएर दक्ष भएकाहरूलाई रोजगारीको कुनै अभाव नहुने बताउनुभयो । बुटवल तथा यस आसपासको क्षेत्र पर्यटनको ‘हव’ को रूपमा विकास भएको भन्दै स्तरीय र सुविधा सम्पन्न होटलमा काम गर्न तालिम अपरिहार्य रहेको बताएका छन् ।

१ हजार ६सय ९६ घण्टे तालिममा ४० जना युवा युवतीको सहभागिता रहेको छ । तालिम सीटीईभीटीको पाठ्यक्रमअनुसार पढाउने/सिकाइने छ । तालिम प्रदायक संस्था देउराली जनता प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक लक्ष्मण रानाले तालिमले कामदारको रोजगार क्षमतामा धेरै सुधार ल्याउने र व्यवसाय गर्न चाहनेहरूलाई निकै फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पछिल्लो समयमा होटल तथा पर्यटन क्षेत्रमा लगानी बढ्दै गरेकोमा दक्ष कामदारको अभाव भएकोले तालिमले सिपमूलक जनशक्ति तयार गर्न आफूहरूले प्रयास थालेको बताउनुभयो । उहाँले यो तालिमको सफलतासँगै यस्ता तालिम संघले निरन्तर चलाउँदै जाने बताउनुभयो ।
संघको कार्यालयको तल्लो तलालाई अब तालिम हलको रूपमा विकास गर्ने संघका सचिव तथा तालिम संयोजक अर्जुन थापलाले बताउनुभयो । तालिम पूर्णरूपमा निःशुल्क रहेको छ । सार्वजनिक सूचना प्रकाशित गरी सहभागी छनोट गरिएको संघका महासचिव माधव कुमार खनालले बताउनुभयो ।