प्रतिपक्ष रिझाउन वागमतीमा श्वेतपत्रको तयारी

0
Shares

हेटौंडा, (नेस) ।

प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर वागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले स्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा श्वेतपत्रलेखन समिति निर्माण गरिएको बताउनुभएको छ । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री खनाल, स्वास्थ्य मन्त्री निमा लामा र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षलाई सदस्य तोकिएको छ ।

वागमती प्रदेश सरकारले प्रतिपक्ष दललाई रिझाउन राजनीतिक समस्या समाधान गर्न समिति गठन गरेको छ । सत्तापक्ष र प्रतिपक्षको असमझदारीका कारण प्रदेशसभा बैठक प्रभावित बनेपछि सरकारले विपक्षी दललाई फकाउने रणनीति बनाएको हो । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ । मन्त्रीहरू संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति बैठकले गठन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको हो । तर, प्रतिपक्षी दल नेकपा एमाले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षलाई फकाएर प्रदेशसभाको गतिरोध नहटाई स्वेतपत्र जारी गर्न समस्या हुने देखिएपछि प्रदेश सरकारले मुख्यमन्त्रीकै संयोजकत्वमा राजनीतिक समस्या समाधान गर्न समिति गठन गरेको छ ।

प्रदेशसभाको बैठक चालु भएपछि प्रदेशको वास्तविक अवस्था जानकारी गराउन श्वेतपत्र जारी गर्ने तयारी सरकारको छ । अघिल्लो सरकारले अघि बढाएको विद्युतीय बस खरिद र सुरूङमार्ग निर्माणजस्ता प्रदेश गौरवकै आयोजनालाई कटौती गरेका कारण मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारसँग प्रतिपक्षमा रहेको नेकपा एमाले चिढिएको हो ।
विद्युतीय बस खरिद प्रक्रियाप्रति केही लचिलो बन्दै प्रतिपक्षलाई फकाउने दाउमा मुख्यमन्त्री पाण्डे देखिनुभएको छ । प्रतिपक्षी दल एमाले भने अडानमा कायम देखिन्छ । प्रदेशसभाको नियमित बैठक बस्न नसक्दा महत्वपूर्ण ३० वटा विधेयक प्रदेशसभामा प्रस्तुत हुन सकेका छैनन् ।