कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोगको तयारी

0
Shares

तनहुँ, (नेस) ।

कोभिड–१९को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान तयारी गरेको छ । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत् कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ । जिल्लाका १० वटै स्थानीय तहमार्फत् कोभिडबाट मृत्यु हुनेको विवरण माग गरिएको अधिकारीले बताउनुभयो । ‘अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउने छैनन्,’ उहाँले भन्नुभयो, ‘सबै पालिकाबाट विवरण प्राप्त भएपछि रकम निकासा गरेर प्रदान गर्ने तयारी भएको छ ।’

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

तनहुँमा कोभिड संक्रमणबाट १५६ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन् । दोस्रो लहरको कोरोना शुरू भएपछि वैशाखयता मात्रै १२९ जनाको मृत्यु भएको थियो । भानुका नौ, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका एक, देवघाटका एक, बन्दिपुरका तीन र आँबुखैरेनीका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।