कोरियोग्राफीमा शम्भुको सोच



तीन दशकदेखि नृत्य र कोरियोग्राफीलाई करियरका रूपमा अगाडि बढाउँदै आएका छन् राजधानीको असनमा जन्मिएका शम्भु शाहीले। त्यसो त ४८ वर्षीय शाही बाल्यकालदेखि नै नृत्यमा रुचि राख्थे। घरमै पिताजीले नृत्य गुरु राखिदिएकाले सात/आठ वर्षकै बाल्यकालमा उनीसँग सिकेर नृत्य गर्ने गरेका शम्भुले २०३९ सालबाट नृत्य निर्देशक प्रवेश वान्तवासँग औपचारिकरूपमा लोक, आधुनिक र शास्त्रीय नृत्यको प्रशिक्षण लिए।

त्यसपछि अर्का नृत्य निर्देशक भुवन श्रेष्ठसँग नृत्य सिकेका उनले नारायणदेवी प्रधान र राधेश्याम प्रधान तथा चन्द्रमान मुनिकारबाट पनि नृत्यको तालिम लिए। तर अचानक २०४७ सालतिर उनमा हिरो बन्ने जोश पलायो। जसका कारण उनले छोरीको इज्जत, ममता, बिना, क्रोध, घोडाको फुल, सासु बुहारीजस्ता आधा दर्जन बढी नाटकमा अभिनय गरे। दुई वर्षको दौरानमा आधा दर्जन बढी नाटकमा अभिनय गरेपछि भने उनी फेरि नृत्य कला विधामै फर्किए। २०५२ सालदेखि ०५५ सालसम्म साधना कला केन्द्रमा भुवन श्रेष्ठको सहायक निर्देशक भएर काम गरेका उनले ०५६ सालबाट त्यहीँ नृत्य निर्देशक भएर काम गरे। बढीजसो स्टेज कार्यक्रमका लागि कोरियोग्राफी गर्दै आएका उनलाई २०६३ सालमा आएर नृत्य तथा कोरियोग्राफीसँगै पुर्खाले चलाउँदै आएको अटो व्यापारलाई प्राथमिकता दिनुपर्ने अवस्था आयो।

‘त्यो बेलामा जति स्टेजको कार्यक्रम हुन्थ्यो, ७० प्रतिशतमा हामी नै संलग्न हुन्थ्यौं। विभिन्न सांगीतिक र सांस्कृतिक साँझ तथा मेला महोत्सवमा हाम्रै प्रस्तुति हुन्थ्यो। हाम्रो नृत्य नभएको कार्यक्रम नै हुँदैन थियो भने पनि हुन्छ’ शम्भुले सम्झिए ‘सन् २००१ बाट भने मैले बेल्जियमबाट अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्न थालेँ। साधना कला केन्द्रका तर्फबाट मैले मेरो कोरियोग्राफीमा पहिलो अन्तर्राष्ट्रिय कार्यक्रमस्वरूप बेल्जियममा नृत्य प्रस्तुति प्रस्तुत गराएको थिएँ। त्यसमा संगीतचाहिँ प्रकाश गुरुङको थियो। त्यसपछि २००६ मा हिमालयन इन्टरनेसनल कल्चरल एसोसिएसन (हिका) बाट मेरै कोरियोग्राफीमा ट्युनिसिया, पोल्यान्ड र जापानमा तीन अन्तर्राष्ट्रिय कार्यक्रम भयो। सात वर्ष अटो बिजनेसलाई समय दिएपछि २०१३ देखि एभरेस्ट कल्चर ग्र्रुपबाट ग्रुप लिडर भएर निरन्तर अन्तर्राष्ट्रिय कार्यक्रमका लागि कोरियोग्राफी गर्दै आएको छु।’

शम्भुले धेरैजसो युरोपी मुलुक पुगेर आफ्नो कोरियोग्राफीमा नृत्य प्रस्तुत गर्दै आएका रहेछन्। ‘अहिले निरन्तररूपमा नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै आएको छु। विदेशमा गएर झ्याउरे, गुरुङ, घाटु, तामाङ सेलो, शेर्पा डान्सजस्ता विभिन्न जातजातिका भेषभूषासहित मौलिक र सांस्कृतिक नृत्य प्रस्तुत गर्दा विदेशीहरू निकै मोहित भएको पाएर अत्यन्तै गौरव लाग्छ’ शम्भुले सुनाए ‘सबैजसो युरोपियन देशको डान्स प्रायः एकै खालको हुँदोरहेछ। त्यस्ता इन्टरनेसनल मेला महोत्सवमा हामीलाई २५ मिनेट समय दियो भने फरक फरक भेषभूषा, संगीत, संस्कृति, नृत्य शैली र एटिट्युडसहित दुई मिनेटको ग्याप पनि नगरी अर्को फरक कस्ट्युम पहिरेर हामी पाँचवटा भेराइटी देखाइदिन्छौं। उनीहरूको चाहिँ १० देशले भाग लिँदा सात देशको नृत्य उस्तै जस्तो हुँदोरहेछ। उनीहरू भने एउटै डान्स २०/२५ मिनेट देखाउँछन्। त्यसैले, हाम्रो प्रस्तुति उनीहरूलाई नौलो लाग्ने रहेछ। त्यसले गर्दा हामीसँग फोटो खिच्नेदेखि लिएर अटोग्राफ लिनेहरूको लाइन नै लाग्छ। हाम्रो मौलिक र सांस्कृतिक डान्सको विदेशमा भयंकर नै महत्व छ। हाम्रो त्यस्तो रिच कल्चरल डान्स हेरिसकेपछि उनीहरूसँग प्रतिक्रिया जनाउने शब्द नै नभएको पाएको छु।’ शम्भुले थपे ‘हामीले प्रस्तुत गर्ने डान्स उनीहरूले इम्याजिन समेत गर्न सक्दैनन्। अहिलेसम्म ग्रुप लिडर भएर मेरो कोरियोग्राफीमा ३०/३५ विदेशमा त्यसरी नेपाली कल्चरल डान्स देखाउने मौका पाएको छु। उनीहरूको रेस्पोन्स हेरेर त्यस्तो डान्स प्रस्तुत गर्ने लोभ सधैं जागिरहन्छ।’

नृत्य निर्देशक संघको केन्द्रीय उपाध्यक्ष तथा एभरेस्ट नेपाल कल्चर ग्रुपको कोरियोग्राफर रहेका शम्भुले म्युजिक भिडियोका लागि समेत कोरियोग्राफी गर्दै आएका छन्। २०५४ सालमा कुन्ती मोक्तानको गीतको भिडियोबाट म्युजिक भिडियो कोरियोग्राफी शुरु गरेका उनले कुन्तीको तिम्रो खुसीको लागि, एकातिर मायालु, भन्छन् कोही जिन्दगानी, खेमराज गुरुङको खोलाको चिसो पानी, कुमार कान्छाको जिन्दगीको के भरोसाजस्ता गीतका लागि कोरियोग्राफी गरेका छन्। जिन्दगीको के भरोसाको भिडियोमा त लिड मोडल पनि भएका छन् भने हालसालै हाम्रो जोडी हिट बोलको गीतको भिडियो कोरियोग्राफीका लागि सहारा एप सगरमाथा म्युजिक अवार्ड चुमेका छन्।

यसरी थुप्रै म्युजिक भिडियोमा समेत कोरियोग्राफी गरे पनि उनलाई आत्मसन्तुष्टि भने रंगमञ्चीय नृत्यबाटै मिल्छ रे। ‘म म्युजिक भिडियोका लागि पनि कोरियोग्राफी गर्छु। तर, मज्जाचाहिँ स्टेज डान्सबाटै आउँछ। किनभने म्युजिक भिडियोमा टेक्नोलोजीको फाइदा लिएर काम गर्ने हो। म्युजिक भिडियोमा चित्त नबुझेसम्म कट गरेर काम गरिन्छ। जति टेक लिए पनि हुन्छ। तर, स्टेजमा वन टेक नै ओके हुनुपर्छ, कट हुँदैन। दोहोर्याएर मिलाउँछु भन्न पाइँदैन। धेरै नै सजग भएर काम गर्नुपर्ने हुन्छ। रिटेकेको गुञ्जायस नै हुँदैन। त्यसको मज्जा छुट्टै हुन्छ। मेरो वेस भनेकै स्टेज हो। त्यसैले, सधैंभरि स्टेज डान्सकै कोरियोग्राफी गर्ने सोच छ’ शम्भुले सम्झिए ‘मैले २०५४/०५५ सालतिर हुनुपर्छ साफ गेमको समयमा होटलदेखि रंगशालासम्म एकै दिन चारवटासम्म स्टेज कार्यक्रम भ्याएको छु। स्टेजका लागि डान्स र कोरियोग्राफी गर्नुको छुट्टै चार्म छ। यो चार्मले गर्दा पनि स्टेज डान्स र कोरियोग्राफी नै रम्न मन छ।’

शम्भुले कोरियोग्राफी क्षेत्रमा योगदान पुर्याएवापत साधना सम्मान २०५६, स्टार इन्टरनेसनल अवार्ड २०२१, सहारा एप सगरमाथा म्युजिक अवार्ड जस्ता अवार्डहरू चुम्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्