कारागारबाट भागेका परियार पक्राउपछि सार्वजनिक

0
Shares

घोराही ।

आफ्नै गर्भवती प्रेमिकाको हत्याको अभियोगमा जेल सजाय भोगिरहेकै बेला गत पुस ८ गते जेलबाट भागेका एक कैदीलाई दाङ प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । दाङको घोराही कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला भागेर फरार भएका कैदी यमराज परियार नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट पक्राउ परेका छन् ।

कैदी फरार प्रकरणको प्रहरी कार्यालयबाट गठित छानबिन तथा खोजतलास समितिका संयोजक प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको हो । भारतीय समकक्षीहरूका समन्वयमा परियारलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी कैदी परियारलाई सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाइकल लिएर भागेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुुकुुन्दप्रसाद रिजालको कमान्डमा टोली खटिएको थियो । प्रनाउ रिजालले प्रहरी प्रधान कार्यालयको समन्वय र इन्टरपोलको सहयोगमा भारतीय समकक्षीहरूको साथ लिएर पक्राउ गरिएको बताउनुभयो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारको स्थायी घर दाङकै राजपुर गाउँपालिका–३ हो । कारागारबाट अस्पताल जाने भनी निस्किएका प्रहरी जवान धनबहादुर चौधरी र परियार अस्पताल नगई घोराहीकै थकाली रेस्टुरेन्टमा दुई जना महिलासहित गएका थिए । त्यही होटलबाट प्रहरी जवान चौधरीको लु३१प ४१० नम्बरको मोटरसाइकलमा परियार भागेका थिए ।

अर्को दिन मोटरसाइकल लमहीको जंगलमा फेला परेको थियो । उक्त घटनामा अहिले प्रहरी जवान चौधरी र उनीसँग होटलमा बसेकी तुलसीपुर–१० की समि चौधरीलाई गत पुस १९ गते दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

पक्राउ परेका कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारूलाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । सो घटनामा होटल सञ्चालक सौजन्य खनाल र घोराही–१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने कारागार विभागले मुद्दा चलाउन अनुमति नदिएपछि गत पुस १६ गते रिहा भएका थिए । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।