राष्ट्रिय सभा उपनिर्वाचन तयारी पूरा



काठमाडौं ।

भोलि बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ निर्वाचन गराउन तयारी पूरा भएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयको काम रेखदेख, सुपरीवेक्षण र समन्वय गर्ने काम निर्वाचन आयोगले निरन्तर गरिरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो । ‘आयोगले गर्नुपर्ने काम सबै पूरा भइसकेको छ । मतदान गर्न मात्र बाँकी हुने गरी सबै ठिक्क पारिसकेको विवरण पाएका छौं’ –आयुक्त भण्डारीले भन्नुभयो ।

देशका सातवटै प्रदेशको राजधानीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि फिल्डको तयारी गरेको छ । ‘निर्वाचनका लागि मतदान केन्द्र, स्थानको व्यवस्थापन, मतपत्र पुर्याउने, मतदानको लागि आवश्यक सामग्री तयारी अवस्था राख्नेदेखि अन्य व्यवस्थापकीय, प्राविधिक तयारी भइसकेको विवरण आएको छ’ –प्रवक्ता प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ । मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि भवन, वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ । यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहनेछ । आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ४ सय ३२, पालिका प्रमुख र उपप्रमुखहरू १४ सय ९३ गरी कुल २ हजार २५ जना मतदाता रहेका छन् ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यका पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात जना अन्य समूहका रहेका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एक्लै प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्