जाडो अझै केही दिन बढ्ने

सकेसम्म चिसोबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव

0
Shares

काठमाडौं, (नेस) ।

केही दिनदेखि देशभर बढेको जाडो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरि नै आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज मंगलबार पनि उपत्यकालगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र हल्का वर्षासमेत हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात हुन सक्ने भएकाले देशभर नै चिसो अझै बढ्ने क्रममा रहको छ ।

त्यसै गरी देशको पश्चिमी तराई तथा मध्य र पूर्वी भूभागका केही स्थानमा हुस्सु कुहिरो लाग्ने क्रम पनि अझै जारी रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपाल समाचारपत्रसँगको कुराकानीमा आज मंगलबारदेखि मौसममा केही सुधार देखिने भए तापनि जाडो भने फेरि बढ्ने बताउनुभयो । उहाँले बेलाबेलामा देखिने पश्चिमी वायुको प्रभावले अझै एक महिना जाडो रहिरहने पूर्वानुमान गरिएको जानकारी दिनुभयो ।

सोमबार साँझसम्म देशभरमा सबैभन्दा बढी पानी नेपालगञ्ज र वीरेन्द्रनगरमा परेको थियो । नेपालगञ्जमा बितेको २४ घण्टामा ४७ मिलिमिटर र वीरेन्द्रनगरमा २२ मिलिलिटर पानी परेको थियो । सोमबार दिपायल, घोराही, धनगढी, डढेलधुरा र भैरहवामा पानी परेको थियो भने उपत्यकामा भने फाटफुट मात्र पानी परेको थियो ।

यसैबीच, स्वास्थ्यकर्मीले सबैलाई चिसोबाट जोगिन र विशेष गरी ज्येष्ठ नागरिक तथा बालबालिकालाई सकेसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् । देशभर नै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढिरहेका बेलामा चिसोका कारण हुने रुघाखोकी, ज्वरो र निमोनियाले उक्त संक्रमणलाई थप फैलाउने र जटिल तुल्याउने भन्दै स्वास्थ्यकर्मीले चिसोबाट जोगिन आग्रह गरेका हुन् । स्वास्थ्यकर्मीले चिसोबाट जोगिन न्यानो कपडा र हिटरको प्रयोगका साथै तातो र झोलिलो खानेकुराको अत्यधिक उपभोग गर्न सुझाव दिएका छन् ।