हत्या अभियोगमा सजाय भोगिरहेका बेला कारागारबाट फरार कैदी पक्राउ


न्युज अफ नेपाल,  काठमाडौं ।

आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जेल सजाय भोगी रहेको बेला गत पुस ८ गते जेलबाट भागेका एक अभियुक्तलाई दाङ प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

२०७२ भदौ १६ गतेदेखि दाङ कारागारमा थुनामा रहेका यमराज परियार छाला सम्बन्धी उपचार गराउने भन्दै कारागारबाट निस्किएर प्रहरीको मोटरसाइकल प्रयोग गरी भाग्न सफल भएका थिए । अस्पताल जान हिँडेका परियार र उनको सुरक्षार्थ खटिएका प्रहरी  जवान धनबहादुर चौधरी दुवै घोराही चोकमा रहेको थकाली भान्साघरमा खाजा खाइसकेपछि चौधरीको लु ३१ प १५० नम्वरको मोटरसाईकल लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले इन्टरपोल मार्फत भारतीय प्रहरीसँग समन्वय गरी परियारलाई भारतमा पक्राउ गरेर नेपाल ल्याएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत दाङ जिल्ला अदालतले २० बर्ष कैदको फैसला गरेको थियो । उनी सात बर्ष जेल जीवन बिताइसकेका थिए ।

उक्त काण्डमा संलग्न रहेको आशंकामा घोराही कारागारका प्रमुख युवराज परियार, कारागारका असइ रुद्रबहादुर सेन, प्रहरी हवलदार गणेशकुमार थारुलाई पक्राउ गरिएको थियो । सोही अभियोगमा  प्रहरी जवान धनबहादुर चौधरी, घोराही उपमहानगरपालिका– १६ रतनपुरकी विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका–३ की समी चौधरी र घोराही होटल प्याराडाइजका सौजन्य खनाललाई प्रहरीले पक्राउ गरेको थियो । परियार प्रहरी कै मोटर साइकल लिएर फरार भएपछि प्रशासनले छानबिन टोली गठन गरेको थियो ।