एकसाथ ९१ कुकुरको बन्ध्याकरण

0
Shares

बागलुङ ।

छाडा कुकुर नियन्त्रण गर्नका लागि बागलुङको गलकोटमा ९१ कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा छाडा कुकुरको समस्या न्यूनीकरण गर्न गत वर्ष पनि बागलुङ बजारमा कुकुरको बन्ध्याकरण गरिएको थियो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ, गलकोट नगरपालिका कृषि तथा पशु सेवा शाखा र केन्द्रीय भेटेरेनरी रिफरल अस्पताल काठमाडौंको आयोजनामा सो कार्यक्रम भएको हो । गलकोटमा बन्ध्याकरण शिविर आयोजना गरेर ९१ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्राविधिक केशव शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय भेटेरेनरी रिफरल अस्पताल काठमाडौंका प्रमुख डा. टंक प्रसाईंको समूहले ६३ वटा घरपालुवा र २८ वटा छाडा कुकुरको बन्ध्याकरण गरेको हो । घरपालुवा कुकुरहरुले जन्माएका छाउरासमेत विभिन्न कारणले छाडा कुकुर हुने भएकाले छाडा मात्रै नभएर घरपालुवा कुकुरहरुको समेत बन्ध्याकरण गरिएको उहाको कथन छ । घरपालुवा तथा छाडा कुकुरहरुलाई बन्ध्याकरण गर्दा प्रजनन क्षमता नष्ट हुने भएकाले विस्तारै छाडा कुकुरको संङख्या घटाउन सहयोग पुग्ने डा. प्रसाईंले बताउनुभयो ।

९१ वटा कुकुरमध्ये २५ वटालाई रेबिजविरुद्धको खोप पनि लगाइएको थियो । बागलुङ बजारबाहेक गलकोट तथा बुर्तिवाङमा समेत छाडा कुकुरका कारण समस्या हुने गरेको छ । छाडा कुकुरका कारण रेबिज रोगको संक्रमण फैलने, सवारी दुर्घटना हुने समस्या जिल्लामा विद्यमान रहेको छ । कुकुरहरुको बन्ध्याकरण गरेपछि बागलुङ बजारमा कुकुरहरुको संख्यामा विस्तारै कमी आउन थालेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।