स्वास्थ्यप्रति सचेत हुँदै ग्रामीण महिला

0
Shares

जाजरकोट ।

भेरी नगरपालिका–१३ को कुदु स्वास्थ्य चौकीमा महिलाले खुलेर स्वास्थ्यकर्मीसँग स्वास्थ्यसम्बन्धी समस्या राख्ने गरेका छन् । गर्भवती, सुत्केरी, नवजात शिशुका लागि स्थानीय सरकारले वडास्तरमै आधारभूत स्वास्थ्य सेवा दिन थालेपछि महिला खुलन थालेका हुन् ।

सुनौला हजार दिनका आमालाई विभिन्न रोगले आक्रमण गर्र्ने, अकालमा मृत्यु हुने भएकाले मातृमृत्यु र बाल मृत्युदरलाई कम गरी स्वास्थ नागरिक बनाउन पालिकाले सो सेवा दिएका हो । विगत वर्षमा भन्दा धेरै महिला चारपटक गर्भ जाँच, सुरक्षित प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आएका छन् ।

भौगोलिक विकटता, अशिक्षा, चेतनाको अभावमा जीवनयापन गरेका आफ्नो समस्या खुलेर राख्न नसक्ने, लाज मान्ने, डराउने आमाहरु यतिखेर खुुलेर आफ्ना समस्या राख्न थालेका स्वास्थ्य चौकी कुदुकी अनमी सपना गिरीले बताउनुभयो ।

गर्भवती आमालाई सुरक्षित प्रसूति, आमा र बच्चालाई स्वस्थ राख्न विगत १६ वर्षदेखि बर्थिङ सेन्टर स्थापन भएको कुदु स्वास्थ्य चौकीले घर–घरमै गएर सुरक्षितरूपमा सुत्केरी गराउने तथा सचेतना गराउने गरेकाले महिलाहरू खुलेर कुरा गर्न थाका उहाँको कथन छ । वार्षिक १५ देखि २० जनालाई मात्र सुरक्षित गर्भवती सेवा दिँदै आएको स्वास्थ्य चौकी कुदुले हाल वार्षिक ८० देखि ९० जना गर्भवतीलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने गरेको अनमी गिरी बताउनुहुन्छ ।

कोरोना महामारी बढ्दै गएको अवस्था भए पनि गर्भवती स्वास्थ्य जाँच गर्न आइरहका छन् । चौरजहारी अस्पताल नजिक भएकाले कोही त्यता जाने गरेको स्वास्थ्य चौकी कुदुका अहेव रामकृष्ण गिरीको भनाइ छ । प्रसूति, गर्भवती, खोप, पोषण, कुष्टरोग, बाल व्यवस्थापन, ५ वर्षमुनिका बालबालिकाको रोगको व्यवस्थापन, क्षयरोग, ल्याब सेवा, कूपोषणको व्यवस्थापन, किशोरकिशोरी मैत्री सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य चौकी कुदु इन्चार्ज पवन विष्टले बताउनुभयो ।

‘विगतमा गर्भवती आमालाई जाँच गर्न बोलाउनुपर्ने, बोलाए पनि नआउने, लाज मान्ने खुलेर बोल्न नसक्ने थिए’, लामो समय कुदु स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा काम गरी हाल भेरी नगर स्वास्थ्य शाखामा काम गर्दै आउनुभएकी अनमी कौशिला बटाला भन्नुहुन्छ– ‘प्रसूति व्यथा लागेका गर्भवतीको घरमै गएर सहयोग गरेका थियौं र आज अवस्था सहज भएको छ ।’

भेरी नगरपालिका–१३ की स्थानीय रश्मी खड्का न्यौपानेले विगतको तुलनामा स्वास्थ्य र शिशुलाई सुरक्षित राख्न सुत्केरी हुन गर्भवतीहरु स्वास्थ्य संस्थामै प्रसूति हुने गरेको बताउनुहुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुने, नेपाल सरकारले ४ पटक गर्भ जाँच, स्वास्थ्य संस्थामै सुत्केरी हुने आमालाई बाटो खर्च, पोषण भत्ता दिने गरेकाले गर्भवती महिलाहरु स्वास्थ्य संस्थाम सुत्केरी हुन जाने गरेको उहाँको कथन छ ।