सञ्चालनमा नआउँदै भत्कियो बेलिब्रिज

0
Shares

मुगु ।

मुगु–हुम्ला लिंक रोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमा निर्माणकार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरको बेलिब्रिज जडान गर्ने क्रममा शनिबार भत्केको हो । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गत वर्ष चैत ५ गते सो पुलको शिलान्यास गर्नुभएको थियो ।

पुस मसान्तसम्म निर्माणकार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै पछि धकेलिने निश्चित छ । बेलिब्रिज निमार्णका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग सम्झौता गरी निर्माणकार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भए पनि काम र बेलिब्रिजको सामग्री कमसल प्रयोग भएकाले भित्किएको हुन सक्ने छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकाया बताउनुहुन्छ ।

५ करोड २० लाख ५५ हजार ९ सय २ रुपियाँको लागतमा बन्ने यो बेलिब्रिजको लम्बाइ ५५ मिटर छ । ‘हतार–हतारमा आरसीसी र पीसीसी गरिएकाले ढलान कमजोर भई पिलरमा लिंक बिछ्याउँदा हुम्लातिरको बेलिब्रिज भासिन गएको हो’, ठेकेदार बखतबहादुर मल्ल भन्नुहुन्छ– ‘पुनर्निर्माणको काम शुरू गरिहाल्छौं, चाँडै गुणस्तरीय काम हुन्छ ।’ भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाइ छ । बेलिब्रिज ठड्याउन दुईवटा मेसिन लगिएको छ । पुलको बीचको भाग बाङ्गिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरू नयाँ भौतिक संरचना जडान गर्नुपर्ने देखिन्छ ।

नगरपालिकालाई हस्तान्तरण गर्ने अवस्थामा रहेको पुल एक्कासि भत्किँदा हस्तान्तरण गर्न ढिलाइ हुने उहाँको भनाइ छ । मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण भए हुम्ला जिल्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकामा सडक पुग्ने छ ।