कर्मचारीमा कोरोना देखिएपछि अदालत बन्द

0
Shares

बैतडी, (नेस) ।

कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतको सेवा बन्द भएको छ । अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेएको एक सूचना जारी गरेर जनाएको हो ।

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ । बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउपुर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमितरूपमा सञ्चालन गरिनेछ ।

यस्तै, मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ । यस्तै, सजाय निर्धारणका लागि पेसी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ । यी बाहेकका अन्य सेवा तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ ।

भारतसँग सीमा जोडिएको बैतडीमा संक्रमणको निकै जोखिममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । संक्रमणकै कारण यहाँ १९ जनाको मृत्यु भइसकेको छ ।