दोलखामा स्वास्थ्य बीमा गर्ने न्यून

0
Shares

दोलखा ।

झण्डै ३ लाख जनसंख्या रहेको दोलखा जिल्लामा ५ हजारले मात्र स्वास्थ्य बीमा गरेको तथ्याङ्क स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखासँग छ । जिल्लामा २०७७ चैत २५ गतेबाट स्वास्थ्य बीमा शुरू भएको थियो ।

जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमाप्रति आकर्षण देखिएको भए पनि हालसम्म ५ हजारले मात्र स्वास्थ्य बीमा गरेको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाका कार्यालय प्रमुख एवं दर्ता अधिकारी तेजप्रसाद लुइँटेल बताउनुहुन्छ ।

झण्डै एक बर्षको अवधिमा जेष्ठ नागरिक २५ सय र अन्य २५ सय गरी ५ हजारले स्वास्थ्य बीमा गरेको तथ्याङ्क कार्यालयमा प्राप्त भएको उहाँको भनाइ छ । पालिकाहरुमा स्वास्थ्य बीमाको काम तीव्र गतिमा भइरहेको र सबै तथ्याङ्क प्राप्त भइनसकेकाले पनि यो संख्या बढ्ने लुइँटेल बताउनुहुन्छ ।

पाँच जनासम्म भएको परिवारले स्वास्थ्य बीमाका लागि ३५ सय रुपियाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । पाँच जनाभन्दा बढी संख्या भएकोमा थप एक जना बराबर ७ सय रुपियाँ दिनुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा गर्ने परिवारलाई स्वास्थ्य बीमा बोर्डले उपचार खर्च, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीलगायतलाई १ लाख रुपियाँ बराबरको सहयोग गर्ने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय दोलखाले जनाएको छ ।

स्वास्थ्य बीमाका लागि जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता भएको व्यक्ति, कुष्ठ रोगी र ड्रग रेसिस्टेन्टलाई सरकारले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिदिएको छ । महिला स्वास्थ्य स्वयंसेवीलाई स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिएको लुइँटेलको कथन छ । दोलखाको तामाकोसी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेवीलाई ५० प्रतिशत रकम उपलब्ध गराएर निःशुल्क बीमाको व्यवस्था गरेको र ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति, दलित, पीछडिएको वर्गका मानिसलाई समेत निःशुल्क बीमाको व्यवस्था गरेको छ ।

त्यसै गरी, कालिञ्चोक गाउँपालिकाले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनसभयो । कालिञ्चोक गाउँपालिकामा झण्डै २५ सय नागरिकको स्वास्थ्य बीमा भइसकेको उहाँको भनाइ छ । स्वास्थ्य बीमाका लागि प्रत्येक पालिकाले वडास्तरमा बीमा सहजकर्ता राखेर स्वास्थ्य बीमाको काम गर्दै आएका छन् । दोलखाको ७४ वडामध्ये आठवटा वडामा भने बीमा सहजकर्ता नभएको कार्यालय प्रमुख लुइँटेल बताउनुहुन्छ ।