खोप कार्ड र आलोपालो सेवा लागू

0
Shares

बैतडी ।

कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई खोपकार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ ।

प्रशासनले यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा र खोपकार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी अधिकृत खगेन्द्र भारतीले बताउनुभयो । आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै, मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालयको हाताबाटै नागरिकता प्रदान हुनेछ ।

यसैबीच कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रशासनसहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्णखोप लगाएको कार्ड अनिवार्य गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार शुक्रबारदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य पूर्णखोप लगाएको खोपकार्ड साथमा राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । ‘कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन हामीले खोपकार्ड अनिवार्य गरेका हौं ।’ –उहाँले भन्नुभयो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका तर्फबाट हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।

घरबाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो ।

यसैबीच ओमिक्रोनको नयाँ भेरियन्ट फैलन सक्ने भन्दै यहाँ सतर्कता अपनाइएको छ । सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरूपमा कोरोना परीक्षण गरिँदै छ ।