पुनर्बहाली माग्दै बाल सञ्जाल आन्दोलित

0
Shares

हेटौंडा ।

मकवानपुरको मनहरी गाउँ पालिकाको बाल सञ्जालका सहजकर्तालाई पुनर्बहाली गर्न माग गरिएको छ । हेटौंडास्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाल गाउँ सञ्जालका अध्यक्ष आशिष बुढाथोकीले यस्तो माग गर्नुभएको हो ।

अध्यक्ष बुढाथोकीले गाउँ पालिकाले बालमैत्री अभियानलाई असर पुग्ने गरेर सहजकर्तालाई बर्खास्त गरेको भन्दै पुनर्बहाली गर्न आफूहरु आन्दोलित भएको बताउनुभयो । बालमैत्री पालिकाका लागि निरन्तर बालविवाह, बालश्रमविरुद्ध विभिन्न कार्यहरु गर्दै आएको अवस्थामा पालिकाले गाउ“पालिकाको आर्थिक अवस्था कमजोर भएको भन्दै बालसञ्जालका सहजकर्तालाई बर्खास्त गर्दा बालमैत्री अभियानलाई गम्भीर असर पुर्याइएको उहाँको दाबी छ । ‘सञ्जाल हटाउने निर्णय गरेको ३ दिनमा हामीले दुई बालविवाह रोक्यौं ।’ –उहाँले भन्नुभयो ।

सञ्जालका सहजकर्ताको पुनर्बहाली नभएसम्म आन्दोलनका कार्यक्रम गरिने उहाँको कथन छ । आन्दोलनको कार्यक्रमअन्तर्गत पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको जानकारीसमेत पत्रकार सम्मेलनमा गराइएको थियो । पालिकाले बाल गाउँ सञ्जालका सहजकर्तालाई पुनर्बहाली नगरे माघ १० गते पालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पालिकाको निर्णयविरुद्ध राजनीतिक दलहरु, सरोकार पक्षहरुलाई ज्ञापनपत्र बुझाउने काम भएको भन्दै सञ्जालका सहजकर्ताका विषयमा पालिका अध्यक्ष एकराज उप्रेतीलाई ज्ञापनपत्र बुझाएको र उहाँले सबै पक्षसँग छलफल गरेर अघि बढ्ने आश्वासन दिएको बुढाथोकीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सहजकर्ता मदन सापकोटाले राजनीतिक घटनाका कारण आफूहरुलाई बर्खास्त गरिएको दाबी गर्नुभयो । उहाँले बर्खास्त गर्नुअघि कुनै स्पष्टीकरण नसोधी पालिकाले बर्खास्त गर्दा आफूहरुले बालमैत्री गाउँ पालिकाका लागि गरेको कामको मूल्यांकन नभएको भन्दै दुःख व्यक्त गर्नुभयो । गाउँपालिकाले बालसञ्जालका सहजकर्ताको योगदानको कदर गर्दै पुनर्बहाली गर्नेमा आशावादी रहेको सापकोटाको कथन छ ।

मनहरी गाउँ पालिकाको पुस २७ गतेको कार्यपालिका बैठकले ९ वटै वडामा रहेका बाल सहजकर्ताहरुलाई माघ १ देखि हटाउने निर्णय गरेको विरोधमा बाल सञ्जाल मनहरीले पुनर्बहालीका लागि विरोधका कार्यक्रम गर्दै आएको छ ।

शुक्रबार भएको बैठकमा पालिका अध्यक्ष उप्रेतीले माघ १५ गतेभित्र कार्यपालिका बैठक राखेर बाल सञ्जालले राखेका मागका विषयमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका पार्टी प्रतिनिधि हरिचन्द्र शाही ठकुरी, माओवादी केन्द्रका पार्टी प्रतिनिधि दिलबहादुर स्यांबो, नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँ कमिटि अध्यक्ष नारायण श्रेष्ठ, नेकपा एमाले मनहरी गाउँ कमिटि अध्यक्ष नवीन सुवेदीले आफ्ना दलका जनप्रतिनिधिलाई बाल सहजकर्ता हटाउन गरेको निर्णयमा हस्ताक्षर गरेको भए हस्ताक्षर फिर्ता गरी बाल सहजकर्ता पुनर्बहालीका लागि कुरा राख्न लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बालसञ्जालकी प्रतिनिधि अस्मिता कार्कीले तालाबन्दी गर्नु बाल सञ्जालको उद्देश्य नरहेको र तालाबन्दीका कारण जनाताले खेप्नुपरेको सास्तीप्रति दुःख लागेको बताउनुभयो ।