अमर प्रहरी कर्मचारीको योगदानको स्मरण

0
Shares

काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी संगठनलाई एक अब्बल सुरक्षा निकायका रूपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीको योगदान तथा त्यागको स्मरण गर्नुभएको छ ।

२१औं सशस्त्र प्रहरी दिवस–२०७८ को अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारी तथा प्रहरीको योगदान अनि त्यागको स्मरण गर्नुभएको हो । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

उहाँले सांगठानिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरू एवं पूर्व राष्ट्रसेवकहरूको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकले पुर्याएका योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्दै कर्तव्यपालनको सिलसिलामा शारीरिक क्षति व्यहोरेका राष्ट्रसेवकहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो ।

महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणासमेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरूमध्ये सर्वोत्कृष्ट ठहरिएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोस्टलाई रनिङ्ग अवार्डसमेत प्रदान गर्नुभयो ।

उहाँले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकलाई नगद राहत उपलब्ध गराउनुका साथै संगठनलाई अनुकरणीय सहयोग पुर्याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो ।