त्रिविको निर्देशन : अति आवश्यकबाहेक ‘वर्क फ्रम होम’

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालले अति आवश्यकबाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले ९ बुँदे सूचना जारी गरी कार्यालय प्रमुखलाई सकेसम्म घरबाट हुने कामका लागि घरबाटै काम गर्न अर्थात् ‘वर्क फ्रम होम’ को व्यवस्था गर्न निर्देशन दिएको छ ।

कार्यालय प्रयोजनका सबै काम इमेलबाट गर्न सूचना जारी गर्दै त्रिविले अति आवश्यक परेका कर्मचारीलाई मात्र कार्यालयमा हाजिर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्रिविले जारी गरेको सूचनामा भोलि माघ ११ गतेदेखि सबै आंगिक क्याम्पस र अध्ययन संस्थानमा अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । त्यसै गरी कर्मचारीलाई संक्रमण देखिए ७ दिन र अस्पताल भर्ना भए अस्पतालले तोकेको समयसम्म बिदा बस्न सक्ने पनि सूचनामा उल्लेख छ ।

त्यस्तै, अत्यावश्यक कामबाहेक कसैसँग भेटघाट गर्न निषेध गर्दै त्रिविले यदि भेट्नै परे भर्चुअल रूपमा भेट्न निर्देशन दिएको छ । दैनिक कार्य सञ्चालन, पठनपाठन, परीक्षा र विविध शीर्षकमा जारी गरिएको सूचनामा अनलाइन कक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ । यसका लागि क्याम्पस प्रमुखले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा समिति बनाउने र डीन कार्यालयले नियमित अनुगमन गर्ने सूचनामा उल्लेख छ । अनलाइनबाट अध्यापन गर्ने शिक्षकको अनलाइनबाटै उपस्थितिको व्यवस्था मिलाइने भएको छ । यसले गर्दा शिक्षकको पारिश्रमिक भुक्तानीको व्यवस्थामा समस्या नहुने जनाइएको छ ।

सूचनामा सबै क्याम्पस र विभागले आज सोमबारभित्र अनलाइन कक्षाको रुटिन बनाइसक्नुपर्ने निर्देशन दिइएको छ । तर, स्थानीय तहसँग समन्वय गरी भौतिक कक्षा लिन सकिने अवस्था भएमा भौतिक कक्षा लिन सकिने पनि स्पष्ट गरिएको छ । विद्यार्थीको आन्तरिक मूल्यांकन अनलाइनका माध्यमबाट गरिनेछ । यसका लागि सबै अध्ययन संस्थान वा संकायले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्नुपर्ने हुन्छ ।