माओवादी पदाधिकारीको टुंगो निर्वाचनबाटै

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारीको टुंगो निर्वाचनबाट हुने भएको छ । पदाधिकारीका आकांक्षी बढ्दै गएपछि सहमति जुटाउन नसकी निर्वाचन प्रक्रियाबाटै पदाधिकारीको टुंगो लगाइने भएको हो ।

कोभिडका कारण यसअघि दुई पटकसम्म रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेका लागि बोलाइएको छ । सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ । महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन । महाधिवेशन सम्पन्न भएको डेढ महिनापछि बस्न लागेको माओवादीको आगामी बैठकले पदाधिकारीको चयन, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ ।

पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिपत्र जारी गर्दै केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौंमा बस्ने र सोही बैठकले पदाधिकारी चयनलगायतका निर्णय गर्ने बताउनुभएको छ । नेता हरिबोल गजुरेलले अगामी बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्य विभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशाअनुरूप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने बताउनुभयो ।

यसैबीच, प्रचण्डले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले अघि बढ्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।