राष्ट्रियसभा निर्वाचनको मौन अवधि शुरू

0
Shares

काठमाडौं ।

आगामी माघ १२ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि (आइतबार) मध्यरातिदेखि लागू भएको छ । निर्वाचन आयोगले मौन अवधि शुरू हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचरण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।

मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरिने पनि आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, वागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुनेछ ।

सो निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता छन् । आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुनेछ । रातो रङको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रङको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्नेछन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।