सशस्त्र प्रहरी दिवसको अवसरमा प्रभातकालीन कार्यक्रम सम्पन्न (फोटो फिचर)


काठमाडौं ।

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन कार्यक्रम सम्पन्न भएको छ ।उक्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

 

सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गराए ।

उनले सांगठानिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु-याएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गदै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरे ।सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

२१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले घोषणा गर्नुभएको कल्याणकारी योजनाहरुः–

स्वास्थ्य सेवा विस्तारः–

सशस्त्र प्रहरी बल, नेपालका बहालवाला एवं अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुका साथै आश्रित परिवारजनले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौंमा मात्र सीमित रहेको नेपाल ए।पी।एफ। अस्पताललाई क्रमशः प्रदेश नं. १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेश प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकोमा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको र आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत १-१ वटा फिल्ड अस्पतालस्थापना गरिने छ ।

सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापनाः

बहालवाला एवं भू.पू. सशस्त्र प्रहरी राष्ट्रसेवक, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक–एक वटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरुप कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालन हुनेगरी सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गरिने छ ।

विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना एवं पेट्रोल पम्प विस्तारः

स्वच्छ उर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुरुप एवं सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी कोषको आयश्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षित बनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाईने छ । साथै समय–समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्नको लागि बागमती प्रदेश तथा सुदूर–पश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि शुरु गरी निरन्तरता प्रदान गरिएको छ ।
 चारपाङ्ग्रे सवारी साधन खरीद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदानः

चारपाङ्ग्रे सवारी साधन खरीद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरुलाई समान रुपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ ।

 शहीद समर्पण सम्मानः

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती मध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर शहीदका श्रीमती एकल महिला एक जनालाई वार्षिक रुपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘शहीदसमर्पण सम्मान’ स्वरूप रु २५ हजार नगद र सम्मान–पत्र प्रदान गरिने छ ।

अमर शहीदका श्रीमतीलाई सहयोगमा वृद्धिः

२१औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कार्यक्रम अन्तर्गत कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमतीएकल महिलालाई सम्मान स्वरुप उपलव्ध गराइएको वार्षिक नगद सहयोग २०००मा ५ सय थप गरी  २५०० कायम गरिएको छ ।
 

सन्ततिलाई निःशुल्क शिक्षाः

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सन्ततिमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने एकजनालाई वार्षिक रुपमा नेपाल ए.पी.एफ.स्कूलमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने छ ।
नगद ऋण योजनामा महिला सशस्त्र प्रहरी कर्मचारी–मैत्री व्यवस्थाः

हाल सशस्त्र प्रहरी कर्मचारीहरुलाई कल्याणकारी सेवा केन्द्र मार्फत सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आएको नगद ऋणको कोटामा सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि मासिक रुपमा २५ वटा कोटा थप गरिने छ । यस अनुरुप वार्षिक रुपमा ३०० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुसहित जम्मा ३६०० जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।

शिशु स्याहार केन्द्र स्थापनाः

सशस्त्र प्रहरी बल, नेपालका एकाइहरुमा लैङ्गिकमैत्री वातावरण सिर्जना गर्ने संगठनको नीतिलाई निरन्तरता दिँदै प्रधान कार्यालयदेखि गण तहसम्म कार्यरत महिला राष्ट्रसेवक कर्मचारीको सुविधाको लागि शिशु स्याहार केन्द्र स्थापना गरी एकाइमा कार्यरत योग्य सशस्त्र प्रहरी कर्मचारीहरुद्वारा बालबालिकाहरुका लागि पूर्व– प्राथमिक शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।