अशक्त वृद्धाले पाइन् घरमै नागरिकता

0
Shares

जाजरकोट ।

भेरी नगरपालिका–४ की ७३ वर्षीया अपाङ्ग जसुदा नेपालीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको हातबाट शुक्रबार नागरिकताको प्रमाणपत्र लिनुभएको छ । शारीरिक अपाङ्ग नेपालीले स्थानीय प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाणपत्र लिन नसक्ने भएकाले प्रमुख जिल्ला अधिकारी देवकोटाले घरमै पुगेर नागरिकता दिनुभएको हो ।

विगत ३० वर्षदेखि स–परिवार कामका सिलसिलामा भारतको जम्मुकस्मीरमा गएका थिए । केही वर्षअघि मात्र उनी नेपाल फर्केकी थिइन् । नेपाल फर्केपछि नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया थाहा नपाएर त्यसै बसेकी थिइन् । सरकारी सेवा–सुविधाबाट वञ्चित हुँदै आएकी नेपालीको अवस्था देखेर भेरी नगरपालिका–४ का वडाध्यक्ष खम्बजंग शाहले नागरिकताका लागि पहल गर्नुभएपछि उहाँले नागरिकता पाउनुभएको हो ।

आमाले नेपाली नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनका छोरा भरत नेपालीले बताउनुभयो । नेपालभन्दा भारतमा बढी जीवन बिताएकाले प्रक्रिया थाहा नपाउँदा नेपाल सरकारले प्रदान गर्दै आएको सेवा–सुविधाबाट वञ्चित भएको उहाँको भनाइ छ । उनका भाइ अझै जम्मुकस्मिरमै छन् ।

प्रमुख जिल्ला अधिकारी देवकोटाले नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि नेपालीले सामाजिक सुरक्षा भत्ता लगायत सरकारले दिने सबै सेवा–सुविधा सहजरूपमा पाउने बताउनुभयो । उहाँले शारीरिक अशक्त तथा वृद्धालाई घरमै आएर प्रमाणपत्र दिने व्यवस्था मिलाइदिएकोमा वडाध्यक्ष शाहलाई धन्यवाद दिनुभएको थियो ।

नेपाली नागरिकताको प्रमाणपत्रबाट वञ्चित नागरिकलाई वडा कार्यालयको सिफारिससहित स्थानीय प्रशासनमा सम्बन्धित नागरिकले निवेदन पेस गरे नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको प्रजिअ देवकोटा बताउनुहुन्छ ।