‘तपाईंको मास्क खै ?’



स्याङ्जा ।

दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेका बेला स्याङ्जामा ‘तपाईंको मास्क खै ?’ अभियान शुरू गरिएको छ । जिल्ला कोभिड व्यावस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा पत्रकारको टोलीले संयुक्तरूपमा ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेका हुन् ।

ओमिक्रोनको प्रकोप बढ्दा पनि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास बढेर गएकाले सो अभियान थालिएको हो । पहिलो दिन शुक्रबार जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा सचेतनासहित स्थानीयलाई मास्क वितरण गरिएको थियो । जनचेतना अभियानमा निस्किएको टोलीले मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गरेका थिए । यस्तै, मास्क बोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्क लगाउन सल्लाह दिएका थिए । बजारमा पैदल यात्रा गरिरहेका अधिकांश स्थानीयले मास्कको प्रयोग गरेको पाइए पनि व्यापार–व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायीले भने मास्कको प्रयोग नगरेको पाइएको थियो ।

अभियानका क्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, वाणिज्य संघमा आबद्ध प्रतिनिधिले अनिवार्य मास्क प्रयोगका लागि स्थानीयलाई सुझाव सल्लाह दिएका थिए । अभियानकर्मीले ‘तपाईको मास्क खै ?’ भनेर सोधेपछि कतिपयले हत्तपत्त मास्क लगाएका थिए । ‘तपाईहरुसँग मास्क छैन भनेर दिइएको होइन,’ अभियानको क्रममा प्रजिअ पौडेलले भननुभयो– ‘संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाऔं, कोरोनाबाट सुरक्षित रहौं भनेका हौं ।’

अहिले स्थानीयले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामूलक कार्यक्रम थालिएको उहाँको भनाय छ । अभियानमा सहभागीले ‘तपाईको मास्क खै ?, मास्कको नियमित प्रयोग गरौं, भौतिक दुरी कायम गरौं/गराऔं, भीडभाड नगरौं, भीडभाडमा नजाऔं, अनावश्यक हिँडडुल नगरौं’ लगायतका सन्देश दिएका थिए । जनचेतना अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रजिअ पौडेलले बताए ।

अभियानको क्रममा मास्कको प्रयोगबिना व्यापार व्यावसाय गरिरहेका ७० जनालाई जरिवाना गरिएको छ । अभियानका क्रममा ३ हजारभन्दा बढी मास्क वितरण गरिएको तथा ५ हजारभन्दा बढीलाई मास्कको उचित प्रयोगसम्बन्धी सचेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्