२ सय ६८ स्वास्थ्यकर्मी संक्रमित

0
Shares

पोखरा ।

कोरोना महामारीको तेस्रो लहर फैलिइरहँदा गण्डकीमा भने स्वास्थ्यकर्मीमै कोरोना देखिन थालेको छ । पछिल्लो १ महिनाको तथ्याङ् हेर्दा गण्डकी प्रदेशका १० जिल्लाका २ सय ६८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय स्वास्थ्यर्कीमै कोरोना देखिन थालेपछि गण्डकी प्रदेशका अस्पतालहरुको सेवासमेत प्रभावित बन्न पुगेको छ । यो १ महिनामा सबैभन्दा बढी कास्कीका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । गण्डकीको मनाङ जिल्लाबाहेक अन्य सबै जिल्लामा रहेका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । कास्कीका १ सय ३८ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । तनँहुमा ४२, लम्जुङमा २०, नवलपुरमा १७, स्याङ्जामा १२, बागलुङमा ११, पर्वतमा १०, म्याग्दीमा ९, गोर्खामा ६ र मुस्ताङका ३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा संक्रामक तथा सरुवा रोग अस्पतालका डाक्टर विकास गौचन पनि रहनुभएको छ । उहाँ दोस्रोपटक संक्रमित हुनुभएको हो । तनहुँमा दैनिक उकालो लागिरहेको संक्रमणबाट प्रायःजसो स्वास्थ्यकर्मी र कर्मचारी प्रभावित बनेका छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना पुगिसकेको तथ्य देखाउँछ ।

भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत १९ जनामध्ये दुई जनालाई मात्रै कोरोना देखिएन । तीन डाक्टरसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि शनिबारसम्मका लागि स्वास्थ्य चौकीको सेवा बन्द गरेको वरिष्ठ ल्याब असिस्टेन्ट रूपक बुढा मगरले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै, सुत्केरी सेवा पनि नियमित प्रदान गरिएको छ । ‘शनिबारसम्मलाई सेवा बन्द गरेका छौं । पहिलो चरणमा कोरोना पुष्टि भएकाहरुको फेरि परीक्षण गर्दा नेगेटिभ आएमा सेवा सुचारु हुन्छ । नभए केही दिन बन्द नै रहन्छ होला ।’ –उहाँले भन्नुभयो ।
शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले बताउनुभयो ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडा बजारमा रहेको खैरेनीटार हेल्थपोस्टमा कार्यरत ६ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । आँबुखैरेनी गाउँपालिकाका १४ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बुधबारदेखि ९ माघसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ ।

१ सय १६ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल जिल्लामा ३ सय ३१ जना सक्रिय संक्रमित छन् । वैशाखयता जिल्लामा पाँच हजार ७ सय १२ जनालाई कोरोना पुष्टि भएको छ । ५ हजार २ सय ५१ निको भएका छन् । वैशाखयता मात्रै १ सय ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।