वृद्धवृद्धालाई औषधि तथा थेरापी सेवा

0
Shares

इलाम, (नेस) ।

इलाम नगरपालिका–१० गोदक राजदुवालीस्थित माईभगवती वृद्धाश्रमका वृद्धवृद्धालाई आर्युवेदिक औषधि वितरण गर्नुका साथै आर्युवेदिक विधिबाट थेरापी गरिएको छ ।
सूर्योदय नगरपालिका–११ आइतबारेमा रहेको मेची आयुर्वेदिक औषधालयले वृद्धाश्रममै पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु असोगन्धाचूर्ण, योगरा गोकुल जस्ता औषधि वितरण गरेको हो ।

वृद्धावस्थामा हुने हाडजोर्नी दुखाई, बाथरोग, हात–खुट्टा झमझमाउने बिरामीलाई स्थानिक स्नेहदन स्वेदन विधिबाट थेरापी गराइको थियो । वृद्धाश्रमसहित आश्रम आसपासका गरी २० जनाले वृद्धवृद्धा यो सेवा लिएका मेची आर्युवेदिक औषधालयका प्रमुख डाक्टर विजय श्रेष्ठले बताउनुभयो । सेवा प्रबाहका लागि औषधालयका वैद्य खगेन्द्र भट्टराईसहित मनीषा विष्ट र विश्वमणि ढकालले सेवा दिनुभएको थियो ।

उहाँका अनुसार अब औषधालयले कार्यालयको ‘जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ मार्फत हरेक महिनाको ५ गते वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा आयुर्वेदिक औषधि वितरणका साथै थेरापी समेत सञ्चालन गर्नेछ । महिला जागरण संघ इलामद्वारा सञ्चालनमा रहेको सो वृद्धाश्रममा ९ महिलासहित १३ जना आश्रित रहेकोे महिला जागरण संघकी कर्मचारी कमला राया ‘घिमिरे’ ले जानकारी दिनुभयो ।