स्याङ्जामा स्मार्ट लकडाउन

0
Shares

स्याङ्जा ।

तेस्रो लहरका रूपमा देखापरेको कोरोना संक्रमण स्याङ्जामा बढ्दो रूपमा देखिन थालेपछि स्मार्ट लकडाउन गरिएको छ । कोरोना संक्रमणको दर दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउने गरी स्मार्ट लकडाउनको आदेशसमेत जारी गरेको हो ।

स्याङ्जामा परीक्षण शुरु गर्न लागेको छैटौं दिनसम्म आइपुग्दा २ सय ५९ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था अहिले हेर्दा दिन प्रतिदिन बढ्दो रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले बताउनुभयो । ‘दैनिक संक्रमणका बिरामी थपिएका छन्’, स्वास्थ्य प्रमुख शर्माले भन्नुभयो– ‘संक्रमित थपिए पनि सिरियस अवस्थाका बिरामी भने देखिएका छैनन् ।’ यसलाई समुदायमा फैलिन नदिन विभिन्न स्वास्थ्य सचेतना बढाउने प्रयासमा रहेको शर्माले बताउनुभयो ।

११ पालिकामध्ये सबैभन्दा बढी पुतलीबजार र वालिङ नगरपालिकामा संक्रमित दखिएका छन् भने अन्य पालिकामा सामान्य देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षणको दायरा बढाउने, खोप लगाउन छुटेका नागरिकलाई खोपको व्यवस्था गर्ने, आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्ने लगायतका कामलाई पहिलो चरणमा प्रथामिकता दिएर अगाडि बढाइएको स्वास्थ्य प्रमुख शर्माको भनाइ छ । जिल्ला स्वास्थ्यसँग भएको साधनस्रोतलाई अधिकतम प्रयोग गर्दै नपुगेको साधनस्रोतलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर संक्रमणबाट जोगाउन नागरिक सुरक्षित अभियानमा लागेको उहाँ दाबी छ ।

विभिन्न स्वास्थ्य संस्थामा परीक्षणको तथ्याङ्क हेर्दा जिल्लामा संक्रमणको अवस्था भयावह हुने संकेत देखेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने गरी रणनीति तयार गरेको जनाएको छ । संघीय सरकारको निर्देशनलाई पालना गर्दै जिल्लाको हालको अवस्थालाई मध्यनजर गरेर १३ बुँदे आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताउनुभयो ।

‘प्रशासनबाट भन्दा पनि नागरिक आफैं संक्रमणबाट जोगिन सचेत हुनु जरुरी छ’, उहाँले भन्नुभयो– ‘स्वास्थ्य संवेदनशीलतामा सबै नागरिकको सहयोग आवश्यक छ ।’ बाहिरी जिल्लाबाट प्रवेश गर्ने सीमानाकाहरुमा सचेतनाका साथ कडाइ गर्दै संक्रमणबाट सचेत रहन आग्रह गरेको प्रजिअ पौडेलको भनाइ छ । भीडभाड नगर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, सेनिटाइजर लगाउने लगायतको स्वास्थ्य मापदण्ड पालना गर्न माइकिङदेखि विविध स्वास्थ्य गतिविधि सञ्चालन गरेको उहाँले बताउनुभयो । खोप लगाउन छुटेका नागरिकलाई सरकारले तोकेको मापदण्डअनुसार खोप लगाउन समेत प्रजिअ पौडेलले अपिल गर्नुभएको छ ।