शैक्षिक संस्था–तातोपानी कुण्ड बन्द

0
Shares

म्याग्दी ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि म्याग्दीमा शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र बन्द भएका छन् । बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीएमसी) म्याग्दीको बैठकले जिल्लामा सञ्चालित शैक्षिक संस्था र तातोपानीका कुण्डहरु आगामी १० दिनसम्म बन्द गर्ने निर्णय गरेसँगै यी क्षेत्र बन्द भएका हुन् ।

उक्त बैठकबाट जिल्लाका विद्यालयहरु तथा तातोपानीका कुण्ड माघ ६ गतेदेखि १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपरेमा१५ गतेसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाएर कक्षा सञ्चालन गर्न सकिने म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।

यसै गरी, मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्डको पालना गर्ने गरी यही माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷गराउने निर्णय भएको उहाँले जनाउनुभयो ।

डीसीएमसीको बैठकको निर्णयको आधारमा संक्रामक रोग ऐन–२०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ बमोजिम बुधबार राति १२ : ०० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी विभिन्न आठवटा बुँदामा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाद्वारा हस्ताक्षरसहित जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

उक्त बैठकको निर्णयअनुसार सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, कर्बडहल, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम आगामी माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरिएको सहायक प्रजिअ पन्तले बताउनुभयो ।

त्यस्तै कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन सार्वजनिक स्थलमा निस्कँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, समय–समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ । सबै प्रकारका पेसा, व्यवसाय तथा पसलहरू जनस्वास्थ्यका मापदण्डको पूर्णरूपमा पालना गरी सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीचालक, सहचालकलगायत सवार यात्रुहरूले अनिवार्यरूपमा मास्क लगाउन एवं सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । शुक्रबारदेखि सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेस्टुरेन्ट) मा प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोभिड खोपकार्ड वा (मोबाइलमा फोटो भए पनि) अनिवार्यरूपमा देखाएर मात्र सेवा लिन पाइने सहायक प्रजिअ पन्तले बताउनुभयो ।