चोरी आरोपमा दुई पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।

पुरातात्विक महत्वका सामग्री चोरी गरेको अभियोगमा दुई जनालाई केशरमहलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं वसुन्धरा बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का सुमन शर्मा र केशरमहल बस्ने रुकुम पश्चिम मुसीकोट नगरपालिका–११ घर भएका बीरबहादुर सुनार रहेका छन् ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरण कार्य भइरहेको केशरमहलभित्र रहेको केशर पुस्तकालयको ठूलो कोठाभित्र संकलन गरी राखिएको पुरातात्विक महत्वको बाघको टाउकोको नम्बर २६, दुई थान तरबारसमेत चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले केशरमहलमा बोरामा राखी फालेको अवस्थामा २ थान तरबार र ३ किलो तौल भएको बाघको टाउको जस्तो देखिने १ थान वस्तु बुधबार दिउँसो फेला पारेको थियो । थप अनुसन्धानको क्रममा उक्त सामग्री चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौं पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।