पुनः हिमपात हुँदा कृषक खुसी

0
Shares

डोटी ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा बुधबार रातिदेखि पुनः हिमपात भइरहेको छ । गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिाट पुनः हिमपात भएको हो ।

यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात शुरू भएपछि कृषक खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, देउताल, मुस्तला, खगरताल, ओखरखालीलगायतका क्षेत्रमा पनि हिमपात शुरु भएको स्थानीयवासी डम्बर विष्टले जनाउनुभयो ।

खप्तडसँगै यहाँका अन्य गाउँहरुमा पनि हिमपात भएकाले नागरिकलाई घरबाहिर निस्किन सकस भइरहेको स्थानीय बताउँछन् । बुधबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भइरहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । हिउँले खप्तडमा डाँडाकाँडा सेताम्मे तथा रमणीय भएका छन् । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । ‘हिमपातले डाँडाकाँडा सेताम्मे भएका पर्यटकका लागि निकै रमणीय भएको छन् ।’ –उहाँ भन्नुहुन्छ । जिल्लामा कोरोना सङ्क्रमण दर कायमै रहे पनि खप्तड घुम्न आउने तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या धेरै नै छ ।

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा ४ हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण यहाँको तापक्रम माइनस तीन डिग्री पुगेको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीको कथन छ् ।