उद्यम विकासको १५ औँ स्थापना दिवस, सफल व्यवसायी र जेष्ठ सदस्य सम्मानित


मोतीराम तिमल्सिना, काभ्रे  । 

पनौती नगरपालिका वडा न ७ मा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारी उद्यम विकासले गरेका गतिविधिहरूको समीक्षा, आगामी योजना तथा जेष्ठ नागरिक र सफल ब्यवसायीहरुलाई सम्मान गरेको छ ।

‘सहकारीले बचत र ऋण लगानी मात्रै गर्ने हैन, लगानी गरिएको ऋणको सदुपयोग भयो कि भएन ? ऋणबाट ब्यक्तिले ब्यवसायलाई सफल बनायो कि बनाएन ? संस्थाले ऊर्जा प्रदान गर्ने गरी सफल व्यवसायीलाई सम्मान गर्ने परम्परा सुरु गरेका छौँ’–अध्यक्ष रोशनकुमार श्रेष्ठले भन्नुभयो–‘स्थापना दिवसको अवसर पारेर त्यस्ता ब्यवसायीहरुलाई सम्मान गरेका छौँ ।’

 

स्थापना दिवसको अवसर पारेर संस्थाबाट ऋण लिई सफल हुने व्यवसायीहरू मध्ये उत्कृष्ट कुखुरा, बट्टाई तथा पशुपालन गरिरहनु भएका निलकण्ठ सुद्धाकार, चाउमिन उत्पादन मार्फत सफल बन्नुभएका लोकनाथ तिमल्सिना, बर्गर हाउस सञ्चालक, व्यवस्थित बधशाला व्यवसाय तथा विभिन्न मासु पसल गर्दै आउनु भएकी रजनी शाही, सिलाई बुनाई व्यवसाय गर्ने रिता तिमल्सिना र कुचो व्यवसाय गर्दै आउनुभएका मानकाजी गोलेलाई उत्कृष्ट व्यवसाय गर्न सफल व्यवसायीका रुपमा सम्मान गरिएको थियो ।

त्यस्तै बुद्ध सदस्य सम्मानबाट हिरामंगल बज्राचार्य, मकरमाया श्रेष्ठ, कृष्णबहादुर कार्की, कान्छी थापा र टेकबहादुर तिमल्सिनालाई सम्मानपत्र, नगद तथा विभिन्न स्वास्थ्य सामग्री, पोसिलो खानेकुरा सहित सम्मान गरिएको थियो । १५ औँ स्थापना दिवसको अवसरमा संस्थामा शेयर सदस्य रहेका जेष्ठ नागरिक र व्यवसायमा सफल रहेकालाई सम्मानपत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्थापना दिवस कै अवसरमा संस्थाका संस्थापक कोषध्यक्ष, नेफ्स्कुनका निर्वतमान सिओ शिवजी सापकोटाले सहकारीहरुको मानव श्रोत व्यवस्थापन विषयमा अमेरिकाको विश्वविद्यालयबाट विद्यावारिधि गरेकोमा सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरूलाई पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, संस्थाका अध्यक्ष रोशन श्रेष्ठले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले पनौती नगरभित्र रहेका सहकारीलाई विधि, नियम र सुशासनमा सञ्चालनका लागि नगरले नियमन गरिरहेको बताउनुभयो । नेफ्स्कुनका निर्वतमान सिइओ शिवजी सापकोटाले पनौती नगरपालिकासँग अनुमति नलिइ जथाभावी सहकारी खुल्न थालेकोमा चिन्ता व्यक्त गर्नुहुँदै नगरपालिकाले त्यसको अनुगमन र नियमन बढाउनुपर्नेमा जोडिनुभयो । संस्थाका अध्यक्ष रोशन श्रेष्ठले पनौती क्षेत्रमा स्थापना भएका सहकारीको संरक्षणका लागि पनौती सहकारी संघ स्थापना गर्न लागिएको बताउनुभयो ।