विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीय खुसी

0
Shares

अछाम ।

ढकारीमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीयमा खुसीयाली छाएको छ । अछाम जिल्लाको ढकारी गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक राष्ट्रिय प्रसारण लाइन बिस्तार गर्दा स्थानीयवासीमा खुसी छाएको हो ।

जिल्लाको सदरमुकामबाट बिकट मानिने ढकारी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन बिस्तारपछि स्थानीयले विकासको महसुस गरेका छन् । ढकारी गाउँपालिकाको लामो प्रयासपछि ढकारीमा राष्ट्रिय विद्युत् प्रसारण लाइन बिस्तार भएको हो । ढकारीमा पुस २९ गते विद्युत् प्रसारणलाइनको विधिवत रूपमा उद्घाटन भएको थियो । गाउँमा विद्युत् पुग्दा निकै खुसी भएको स्थानीय इन्द्र थापाले बताउनु भयो ।

यस्तै ढकारी गाउँपालिकामा विद्युत् बिस्तार हुँदा निकै खुसी भएको ढकारी गाउँपालिकाका स्थानीय कृष्ण बुढाले बताउनुभयो । ढकारी गाउँपालिकामा विद्युत् नहुँदा पक्की घर बनाउँदा घरको सटर बनाउन महंगोमा जेनेरेटर चलाएर बनाउनुपर्ने बाध्यता नहुने र फर्निचरका सामानहरू सहजै रूपमा बनाउन सकिने,घरमा मसला पिस्न मिक्सर चलाउन,चिसोमा हिटर बाल्न पसलमा फ्रिज राख्न सहज भएको बुढाले बताउनुभयो ।

पहिले बिजुली कस्तो हुन्छ भन्ने थाहा थिएन अहिले ढकारीमा विद्युत् आउँदा निकै खुसी भएको ढकारी गाउँपालिका १ का स्थानीय सरिता बुढाले बताउनुभयो । ढकारी गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन बिस्तार भइसकेपछि विद्युत्बाट हुनसक्ने दुर्घटनाबाट सचेत हुन ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताउनुभएको छ । अध्यक्ष बुढाले भन्नुभयो– ‘अहिले ढकारी गाउँपालिकाका केही वडामा बिजुली बालेका छौं यही आर्थिक वर्षमा ढकारी गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्ने लक्ष्य रहेको छ ।’